समाचार सुन्नुहोस :
काठमाडौँ – प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयास भए सडक आन्दोलनमा जाने चेतावनी दिएको छ। सत्तारुढ कांग्रेस र एमालेले रानाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न सांसदहरूको हस्ताक्षर संकलन थालेको बेला रास्वपाले यस्तो चेतावनी दिएको हो।
रास्वपा प्रवक्ता मनीष झाले हस्ताक्षरको खबर सुन्दा आफूहरू आक्रोशित भएको बताउँदै, “समावेशिताको प्रतिनिधित्व गर्ने जनजातिकी छोरीलाई हटाउने षड्यन्त्र सह्य हुँदैन। सदनमा यस्तो नाटक भए सडकले जवाफ दिनेछ,” भने। उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई परिवार, आफन्त र बिचौलियालाई पद बाँड्ने गरेको आरोप लगाए। “समावेशिताको परिवर्तन सह्य नभएकै कारण रानामाथि प्रहार गरिएको हो,” उनले भने।
यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि रानाविरुद्धको कदमको विरोध गर्ने बताएका थिए। मंगलबार पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग उनले कांग्रेस–एमाले गल्ती गर्न लागेको भन्दै माओवादीले प्रतिरोध गर्ने चेतावनी दिएका थिए। यता एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने तत्कालै महाभियोग प्रस्ताव अघि बढाउनेबारे आफ्नो दल सहमत नरहेको स्पष्ट पारेका छन्।








