समाचार सुन्नुहोस :
काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार पाँच मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। २० साउनमा आफूसहित ८ मन्त्री नियुक्त गरेपछि दोस्रो चरणमा आफ्नै दल नेपाली कांग्रेसका पाँच सदस्यलाई मन्त्री बनाउँदै सरकारले १४ सदस्यीय स्वरूप पाएको हो।
नयाँ मन्त्रीहरूमा सामाजिक विकास मन्त्रीमा काभ्रेका कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रीमा रसुवाका प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रीमा ललितपुरकी उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रीमा भक्तपुरका सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रीमा चितवनकी बिनु रायमाझी पौंडेल रहेका छन्।
२० साउनमा कांग्रेसबाट खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रीमा सिन्धुपाल्चोकका कृष्ण तामाङ र विना विभागीय मन्त्रीमा धादिङका शिवराज अधिकारी नियुक्त भएका थिए। पछि अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाए। त्यस्तै, एमालेतर्फबाट मधुसुदन पौंडेल (कृषि तथा पशुपन्छी विकास), डा. दिनेशचन्द्र देवकोटा (भौतिक पूर्वाधार विकास), भरत केसी (वन तथा वातावरण), जयरथ थापा (श्रम, रोजगार तथा यातायात) र बिन्दु श्रेष्ठ (उद्योग, वाणिज्य, भूमि तथा प्रशासन) रहेका छन्।
कांग्रेस–एमाले गठबन्धनअनुसार दुवैले ६–६ मन्त्रालय पाएका थिए। पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले मन्त्रालय संख्या १४ पुर्याएपछि कांग्रेसले थप एक मन्त्रालय लिएको हो।








