टोकियो – गायक सुमन केसी र गायिका रोजिना बस्नेतको आवाजमा बनेको नयाँ गीत ‘ढुकढुकी’ को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । गायक केसीको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । रोमान्टिक भाव बोकेको उक्त गीतमा जापानलाई कर्मथलो बनाउँदै आउनुभएका व्यवसायी राहुल शाही ठकुरी र सञ्जु शाही ठकुरीले डेब्यू गर्नुभएको छ ।
उक्त गीतमा सरोज पोखरेलले संगीत भर्नुभएको छ भने किशोर पोखरेलको उत्कृष्ट शब्द रचना छ । गीतमा मन छुने शब्द तथा सुन्दर संगीत समावेश गरिएकाले दर्शक-श्रोताले मन पराउने अपेक्षा गरिएको छ ।
जापानको मियाजाकी क्षेत्रमा छायाङ्कन गरिएको उक्त भिडियोमा त्यस क्षेत्रका प्राकृतिक सौन्दर्यतालाई गजबले कैद गरिएको छ । प्रेमभावले भरिपूर्ण भिडियोमा शाही जोडीको अभिनयलाई दर्शक-श्रोताहरुले निकै मन पराउनुभएको बताईन्छ । शाही जोडीले प्रेम र भावनात्मक क्षणलाई स्वभाविक रूपमा चित्रण गर्नुभएको छ, जसले भिडियोलाई निकै आकर्षक बनाएको छ ।
भिडियोलाई नितिन चन्दले निर्देशन गर्नुभएको हो भने फुर्वा शेर्पाले क्रियटिभ डाइरेक्टरको भूमिका निर्वाह गर्नुभएको छ । नितिन चन्दकै छायाङ्कन रहेको भिडियोको सम्पादन भने विकास धमलाले गर्नुभएको हो । दृश्य संयोजन, रंग संयोजन र क्यामेराको उत्कृष्ट प्रयोगका कारण भिडियोले फरक अनुभूति दिने विश्वास गरिएको छ ।
सार्वजनिक भएदेखि नै ‘ढुकढुकी’ले दर्शक तथा श्रोताहरुको मन जित्दै आईरहेकोले विशेष चर्चा बटुलिरहेको छ । गीतको भावले वास्तविक प्रेमको महत्व र फिलिङ्सलाई उजागर गर्दै युवा जमातलाई विशेष आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
निर्माण टिमका अनुसार दर्शकहरूले गीतको संगीत, भिडियोको सुन्दर लोकेशन र कलाकारहरूको भावनात्मक अभिव्यक्तिलाई रुचाईरहनुभएको छ । नेपाली नयाँ वर्ष नजिकिदैं गर्दा संगीतप्रेमीहरूका लागि ‘ढुकढुकी’ एक विशेष उपहार साबित हुने निर्माण पक्षको दाबी छ ।
म्यूजिक भिडियोमा अभिनय मार्फत पहिलोचोटी सार्बजनिक हुनुभएका शाही दर्शन समाज जापानका अध्यक्ष पनि हुनुहुन्छ । ******
भिडियो हेर्नका लागि यहां क्लिक गर्नुहोला ।