काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा राइजिङ पुणे सुपरजाइन्ट्स विजयी भएको छ । पुणेले लिग लिडर मुम्बई इन्डियन्सलाई तीन रनले हराएको हो ।

पुणेले प्रस्तुत गरेको एक सय ६१ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ५७ रन मात्रै बनाउन सक्यो ।

मुम्बईका कप्तान रोहित शर्माले ५८, पार्थिव पटेलले ३३ तथा जोस बट्टलरले १७ रनको योगदान दिए पनि हार टार्न सकेनन् । पुणेका जयदेव उनादकाट र बेन स्टोक्सले समान दुई दुई विकेट लिए ।

यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको पुणेले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो । उसका लागि राहुल त्रिपाठीले ४५ तथा अजिन्क्या रहानेले ३८ रनको योगदान गरे ।

जितपछि ७ खेलबाट ८ अंक जोडेको पुणे चौथो स्थानमा छ भने मुम्बई इन्डियन्स ८ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा कायम छ ।












