Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानमा अध्ययनरत विदेशी विद्यार्थीहरूको संख्याले यस वर्ष नयाँ रेकर्ड कायम गरेको छ । सन् २०२५ को पछिल्लो तथ्याङ्कअनुसार जापानमा विदेशी विद्यार्थीहरूको संख्या पहिलो पटक ४ लाखको माइलढुङ्गा पार गर्दै ४ लाख ८ हजार ६९ पुगेको छ ।

विद्यार्थी सहयोग गर्ने निकाय ‘जापान स्टुडेन्ट सर्भिसेस अर्गनाइजेसन’ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ७१ हजार ३ सय ६१ जना थप विद्यार्थी जापान भित्रिएका छन् । यो वृद्धिमा नेपाल र म्यानमार जस्ता दक्षिण तथा दक्षिण-पूर्वी एशियाली देशहरूको भूमिका प्रमुख देखिएको छ ।

जापानमा अध्ययन गर्न आउने विद्यार्थीहरूमा चीन अझै पनि पहिलो स्थानमा छ । चीनबाट १ लाख ३१ हजार ९७ जना विद्यार्थी जापानमा छन् । तर, सबैभन्दा आश्चर्यजनक वृद्धि नेपालबाट भएको देखिएको छ । नेपालबाट जापानमा अध्ययनरत विद्यार्थीको संख्या १ लाख २ सय ३९ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३५ हजार ४ सय २३ ले बढी हो । यसैगरी म्यानमारबाट पनि २९ हजारभन्दा बढी विद्यार्थी जापानमा अध्ययनरत छन् ।

तथ्याङ्कअनुसार जापान आउने कुल विद्यार्थीमध्ये ६० प्रतिशतभन्दा बढी भाषा विद्यालय र व्यावसायिक शिक्षालयमा भर्ना भएका छन् । सन् २०११ यता पहिलो पटक भाषा र प्राविधिक शिक्षा पढ्नेहरूको हिस्सा यति ठूलो देखिएको हो। विश्वविद्यालय र स्नातकोत्तर तहमा भने १ लाख ५६ हजारभन्दा बढी विद्यार्थी भर्ना भएका छन् ।

शिक्षाविद् एवं सरकारी समितिकी सदस्य सातो युरिकोका अनुसार नेपाल र म्यानमार जस्ता देशमा रोजगारीको पर्याप्त अवसर नभएका कारण युवाहरू राम्रो भविष्यको खोजीमा जापानतर्फ आकर्षित भएका हुन् । उनले भनिन्, ‘विश्वविद्यालयको तुलनामा व्यावसायिक शिक्षालयको अध्ययन अवधि छोटो हुने र यसले सिधै जापानमा रोजगारी पाउन सजिलो बनाउने भएकाले यी देशका विद्यार्थीको रोजाइमा प्राविधिक विषयहरू परेका हुन् ।’

जापान सरकारले सन् २०३३ सम्ममा ४ लाख विदेशी विद्यार्थी पुर्‍याउने लक्ष्य राखेकोमा यो उपलब्धि निर्धारित समयभन्दा ८ वर्ष अगावै पूरा भएको छ । जापानी येनको अवमूल्यनका कारण पश्चिमा देशहरूको तुलनामा जापानमा अध्ययन र जीवनयापन खर्च कम हुनु पनि यसको एउटा मुख्य कारण मानिएको छ । अर्कोतर्फ, जापानमा देखिएको गम्भीर जनशक्ति अभावका कारण जापानी कम्पनीहरूले विदेशी विद्यार्थीलाई रोजगारी दिन देखाएको तत्परताले गर्दा पनि आगामी दिनमा चीन बाहेकका एशियाली देशबाट विद्यार्थीको प्रवाह अझै बढ्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया