Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – टोकियो नजिकैको कावागुची सहरले विदेशी बासिन्दाहरूसँग सम्बन्धित जिज्ञासा र समस्याहरूलाई विशेष रूपमा सम्बोधन गर्न एक नयाँ परामर्श सेवा सुरु गर्ने भएको छ । यस सेवाको सबैभन्दा ठूलो विशेषता भनेको यसमा अध्यागमन अधिकारीको प्रत्यक्ष संलग्नता रहनेछ, जुन जापानको इतिहासमै पहिलो प्रयोग हो ।

साइतामा प्रान्तमा अवस्थित कावागुची सहर जापानमै सबैभन्दा बढी विदेशी बासिन्दाको अनुपात भएको सहरहरूमध्ये एक हो । यहाँको कुल जनसङ्ख्याको करिब ९ प्रतिशत हिस्सा विदेशी नागरिकहरूले ओगटेका छन् ।

नगर प्रमुख ओकामुरा युरिकोले शुक्रबार आयोजित एक कार्यक्रममा आगामी जुलाईदेखि सिटी हल (नगरपालिका कार्यालय) मा विशेष परामर्श डेस्क सञ्चालनमा आउने घोषणा गर्नुभयो । यस डेस्कमा नगरपालिकाका कर्मचारीहरूका साथै टोकियो क्षेत्रीय अध्यागमन सेवा ब्यूरोका एक अधिकारी समेत खटिनेछन् ।

जापानमा यसअघि कुनै पनि स्थानीय तहको कार्यालयमा अध्यागमन अधिकारीलाई यसरी स्थायी रूपमा खटाउने व्यवस्था गरिएको थिएन । यो पहलले विदेशी बासिन्दा र स्थानीय प्रशासनबीचको खाडल कम गर्ने विश्वास गरिएको छ ।

यस डेस्कले मुख्यतया विदेशी बासिन्दाहरूलाई जापानी जीवनशैलीमा अभ्यस्त हुन, सांस्कृतिक भिन्नताका कारण आइपर्ने समस्या सुल्झाउन र दैनिक जीवनका विविध पक्षमा परामर्श प्रदान गर्नेछ । प्राप्त जिज्ञासा वा गुनासोहरूलाई आवश्यकता अनुसार केन्द्र सरकार वा नगरपालिकाका सम्बन्धित विभागहरूसम्म पुर्‍याई छिटो र छरितो समाधान खोजिनेछ ।

नगरपालिकाले यस डेस्कमार्फत सङ्कलन गरिएका सूचना र अनुभवहरूलाई सम्बन्धित निकायहरूसँगको समन्वय बैठकहरूमा साझा गर्नेछ, जसले जापानमा ‘समावेशी समाज’ निर्माणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

नगर प्रमुख ओकामुराले यो कदम विदेशी नागरिकहरूमाथि कडा नियन्त्रण गर्नका लागि नभई उनीहरूलाई दिइने सहयोग र सेवालाई थप प्रभावकारी बनाउन चालिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘अध्यागमन अधिकारीको उपस्थितिबाट विदेशी बासिन्दाका कानुनी र व्यवहारिक समस्याहरूलाई अझ सहज ढङ्गले समाधान गर्न सकिनेछ । हाम्रो उद्देश्य सबै बासिन्दाले सुरक्षित र ढुक्क महसुस गर्न सक्ने वातावरण निर्माण गर्नु हो ।’

जापानमा बढ्दो विदेशी जनसङ्ख्यासँगै स्थानीय निकाय र अध्यागमन विभागबीचको यो प्रत्यक्ष सहकार्यलाई देशका अन्य सहरहरूले पनि चासोका साथ हेरेका छन् ।

तपाईको प्रतिक्रिया