काठमाडौँ – लामो समयदेखि बन्द रहेको जयनेपाल हल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ। शुक्रबार बिहान एक कार्यक्रमका बीच हलको औपचारिक सुरुवात गरिएको हो। कार्यक्रममा नीर शाह, रवीन्द्र खड्कालगायत फिल्म क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो।
सञ्चालकहरूका अनुसार पहिले नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शन गरेर हल पुनः सञ्चालन गर्ने योजना थियो। तर उक्त फिल्म रोकिएपछि अहिले ‘राजा शिवाजी’ प्रदर्शन गर्दै हल सञ्चालनमा ल्याइएको हो। यो जानकारी सञ्चालकमध्येका एक गोपाल कायस्थले दिएका हुन्। यसअघि क्यूएफएक्सको माउ कम्पनी क्वेस्ट इन्टरटेनमेन्टले सञ्चालन गरेको यो हल बन्द भएपछि अहिले बज इन्टरटेनमेन्टले व्यवस्थापन सम्हालेको छ।
हलमा ३०६ सिट क्षमता रहेको छ। दर्शकका लागि सुत्ने सिट ८०० रुपैयाँ, बालकोनी ५०० रुपैयाँ र सामान्य सिट ३५० रुपैयाँ शुल्क तोकिएको छ। बज इन्टरटेनमेन्टका रुपेश श्रेष्ठ र उत्सव शाहीले संयुक्त रूपमा हल सञ्चालन गरिरहेका छन्।








