काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने विशेष दूत सर्जियो गोर तीनदिने भ्रमणका लागि बिहीबार साँझ काठमाडौं आइपुगेका छन्। उनको भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। साथै, परराष्ट्रसचिव अमृतबहादुर राईसँग पनि छलफल हुने बताइएको छ।
तर, प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट हुने सम्भावना भने कम रहेको छ। प्रधानमन्त्रीको व्यस्त कार्यतालिकाका कारण भेटका लागि समय नमिलेको जनाइएको छ। साथै, प्रधानमन्त्रीले हालसम्म विदेशी कूटनीतिज्ञसँग व्यक्तिगत भेट नगर्ने अभ्यास अपनाएका कारण पनि यो भेट अनिश्चित बनेको हो।
काठमाडौं बसाइँका क्रममा विशेष दूत गोरले सगरमाथा क्षेत्रको भ्रमण गर्ने योजना पनि बनाएका छन्। यसअघि नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरले पनि प्रधानमन्त्रीसँग भेट गर्न सकेका थिएनन्। भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोरलाई यस क्षेत्रका अन्य अमेरिकी कूटनीतिज्ञहरूले प्रत्यक्ष रूपमा प्रतिवेदन बुझाउने गर्छन्।








