Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – टोकियो प्रहरीले बुधबार बिहान विद्यालय जाँदै गरेका विद्यार्थी र प्रहरीमाथि आक्रमण गरी फरार भएका संदिग्ध व्यक्तिको फोटो सार्वजनिक गर्दै उनलाई जापानभरको ‘वान्टेड’ सूचीमा राखेको छ । ज्यान मार्ने उद्योगको अभियोगमा खोजी गरिएका ती व्यक्ति ४४ वर्षीय ताकाबायाशी तेरुयुकी हुन्, जो फुस्सा सहरका बासिन्दा हुन् ।

अनुसन्धान अधिकारीहरूका अनुसार, ताकाबायाशीले बुधबार बिहान ७:१५ बजे फुस्सा सहरको एक सडकमा १७ वर्षीय उच्च मावि तहका विद्यार्थीको अनुहारमा हथौडा जस्तो देखिने वस्तुले पटक-पटक प्रहार गरेका थिए । आक्रमणबाट ती विद्यार्थी गम्भीर घाइते भएका छन् । उनले अर्का एक विद्यार्थीलाई पनि आक्रमण गरी सामान्य घाइते बनाएका थिए ।

घटनाको समयमा एक रेष्टुरेन्ट नजिक सात जना युवाहरू भेला भएका थिए। सूचना पाएलगत्तै घटनास्थल पुगेका प्रहरी अधिकारीहरूलाई अभियुक्तले ‘सर्भाइभल नाइफ’ देखाएर धम्क्याउनुका साथै कृषि कार्यमा प्रयोग हुने स्प्रेमार्फत अज्ञात तरल पदार्थ छर्किएका थिए । उक्त रसायनका कारण तीन जना प्रहरी अधिकारीहरू घाइते भएका छन् ।

आक्रमणको झन्डै १० मिनेटपछि अभियुक्त नजिकै रहेको आफ्नो घरभित्र छिरेर ढोका थुनेर बसेको प्रहरीको प्रारम्भिक अनुमान थियो । करिब साढे चार घण्टापछि प्रहरीको विशेष टोली घरभित्र प्रवेश गर्दा उनी त्यहाँ फेला परेनन् । प्रहरीको पछिल्लो अनुसन्धानले देखाए अनुसार, अभियुक्तले प्रहरीमाथि तरल पदार्थ छर्किएलगत्तै बिहान ८ बजेतिरै घरको पछाडिको ढोकाबाट भागिसकेका थिए । प्रहरीले घर घेरा हाल्नुअघि नै उनी उम्किन सफल भएको देखिएको छ ।

प्रहरीका अनुसार फरार अभियुक्त ताकाबायाशीको उचाइ १७३ सेन्टिमिटर छ र उनको कपाल निकै छोटो काटिएको छ । फरार हुने समयमा उनले खैरो रंगको स्वीटसर्ट र पाइन्ट लगाएका थिए । टोकियो प्रहरीले उनको फोटो देशभरका प्रहरी कार्यालयहरूमा पठाउँदै खोजी कार्यलाई व्यापक बनाएको छ । साथै, सर्वसाधारणलाई ती व्यक्ति कतै देखिएमा वा उनीबारे कुनै जानकारी भएमा तुरुन्त प्रहरीलाई खबर गर्न अपील गरिएको छ ।

तपाईको प्रतिक्रिया