टोकियो – जापानमा ‘गोल्डेन विक’ भनिने वसन्तकालीन लामो बिदाको सिजन सुरु भएको छ । लाखौँ जापानीहरू आफ्नो थातथलो र पर्यटकीय गन्तव्यतर्फ लाग्दा यातायातका साधनहरूमा यात्रुको अत्यधिक चाप देखिएको छ । तर, यस वर्षको खुसीयालीमा मध्यपूर्वमा जारी इरान द्वन्द्व र त्यसले निम्त्याएको महँगीले भने केही हदसम्म छाया पारेको छ ।
विभिन्न एयरलाइन्सहरूका अनुसार बुधबार टोकियो र ओसाकाबाट बाहिरिने आन्तरिक उडानहरूको बुकिङ उच्च विन्दुमा पुगेको छ । हक्काइडोमा काठ ओसार्न प्रयोग गरिने ऐतिहासिक स्टीम इन्जिन (SL Train) सञ्चालनमा आएपछि बालबालिकाहरूमा छुट्टै उत्साह देखिएको छ । त्यस्तै, मिए प्रान्तको किहोकु टाउनमा आयोजित ‘ट्राउट’ माछा समात्ने प्रतियोगितामा पनि पर्यटकहरूको बाक्लो उपस्थिति देखिएको छ । टोकियोको हानेदा विमानस्थलमा भेटिएकी एक महिलाले भनिन्, ‘मसँग छ दिनको बिदा छ, म कामको सबै तनाव बिर्सेर नागासाकीमा साथीहरूसँग रमाइलो गर्ने योजनामा छु ।’
खुसीयालीका बीच मध्यपूर्वको द्वन्द्वले बढाएको इन्धन र खाद्यान्नको मूल्यले जापानीहरूको बिदा मनाउने शैलीमा परिवर्तन ल्याएको छ । महँगीका कारण धेरैले टाढाको सट्टा नजिकैका प्रान्तहरूमा जान र सस्तो सुविधाहरू प्रयोग गर्न थालेका छन् । अनलाइन बुकिङ कम्पनीका अधिकारी ताकाहा युकीका अनुसार, यसपटक मानिसहरू निकै ‘बजेट सचेत’ देखिएका छन् र विलासी रिसोर्टको सट्टा सार्वजनिक वा कम खर्चिला सुविधाहरू रोजिरहेका छन् ।
अन्तर्राष्ट्रिय उडानतर्फ पनि बुधबार यात्रुहरूको ठूलो चाप रह्यो। अघिल्लो वर्षको तुलनामा अन्तर्राष्ट्रिय उडानको बुकिङ १० प्रतिशतले बढेको भए पनि कमजोर जापानी ‘येन’ का कारण विदेश जान लागेका पर्यटकहरू निकै चिन्तित देखिन्छन्। डलरको तुलनामा येन कमजोर हुँदा वैदेशिक भ्रमण निकै खर्चिलो बनेको छ । विदेश जान लागेकी एक महिलाले भनिन्, ‘म बारम्बार विनिमय दर चेक गरिरहन्छु । बाहिर खाना खान निकै महँगो पर्ने भएकाले मैले आफ्नो सुटकेसमा ‘इन्स्ट्यान्ट नुडल्स’ (चाउचाउ) नै प्याक गरेकी छु, ताकि खर्च कम होस् ।’
इरान र इजरायलबीचको तनावले इन्धनको मूल्यमा पार्ने असर र मुद्रा बजारमा देखिएको अस्थिरताले गर्दा यस वर्षको वसन्तकालीन बिदा जापानीहरूका लागि उल्लासमय भए पनि आर्थिक रूपमा चुनौतीपूर्ण बनेको छ ।








