Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५७० औं जन्मजयन्तीको पावन अवसरमा जापानको राजधानी टोकियोमा एक विशेष समारोह आयोजना हुने भएको छ । नेपाली राजदूतावास, टोकियोको मुख्य संयोजन तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा आगामी मे २ तारिख शनिबारका दिन विशेष समारोह भव्य रूपमा आयोजना हुन लागेको हो ।

बुद्ध जयन्तीलाई केवल धार्मिक वा सांस्कृतिक पर्वका रूपमा मात्र नभई नेपालको पहिचान, सभ्यता र गौरवलाई अन्तर्राष्ट्रिय समुदायमाझ पुनर्स्थापित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ । बुद्धले फैलाएका शान्ति, करुणा, मैत्री र सह-अस्तित्वका विश्वव्यापी सन्देशहरूलाई वर्तमान विश्वमा अझ बढी सान्दर्भिक बनाउन यो कार्यक्रमले सेतुको काम गर्ने आयोजकको विश्वास छ ।

नेपाली राजदूतावासका अनुसार, जापानमा रहेका नेपाली समुदाय र बुद्ध दर्शनप्रति आस्था राख्ने जापानी नागरिकहरूलाई समेत समेट्दै आयोजना गरिने यस कार्यक्रमले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने ऐतिहासिक तथ्यलाई थप प्रवर्द्धन गर्नेछ । यसअघि पनि जापानमा विश्व शान्तिका दूत गौतम बुद्ध र नेपालको पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरू हुँदै आएका थिए ।

आयोजकले यस ऐतिहासिक र गरिमामय अवसरमा जापानवासी सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई कार्यक्रमलाई थप अर्थपूर्ण र सफल बनाइदिन हार्दिक निमन्त्रणा गरेको छ । कार्यक्रममा बुद्धका उपदेशहरूको चर्चाका साथै विशेष पूजा र सांस्कृतिक झलकहरू समेत समावेश गरिने बताइएको छ । शान्तिको खोजीमा रहेको वर्तमान विश्वका लागि टोकियोमा हुन लागेको यो बुद्ध जयन्ती विशेष समारोहले प्रेम र सद्भावको सन्देश छर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया