टोकियो – जापानको ओसाकामा दुई अज्ञात व्यक्तिले एक पसलमा कारले ठक्कर दिएर सटर फोडी करिब १५ लाख येन मूल्य बराबरको ‘पोकेमोन’ कार्ड र अन्य सामग्रीहरू लुटेका छन् । ओसाकाको नानिवा वार्डमा मंगलबार बिहान ३:४५ बजे उक्त घटना घटेको हो ।
सडकमा जडान गरिएको सुरक्षा क्यामेराको फुटेजमा एउटा कारले पसलको सटरमा पछाडिपट्टिबाट जोडले ठक्कर दिएर सटर फुटाएको देखिएको छ । सटर फुटेपछि कारबाट दुई व्यक्ति बाहिर निस्केर पसलभित्र पसेका थिए ।
पसलभित्रको सीसीटीभी फुटेजमा ती दुई व्यक्तिले सामान राखिएका सिसाका सोकेसहरू फुटाउँदै त्यहाँका सामानहरू झोलामा भरेको देखिएको छ । प्रहरीका अनुसार उनीहरू पसलभित्र छिरेको मात्र दुई मिनेटभित्र लुटपाट सकेर त्यहाँबाट फरार भएका थिए ।
पसलका एक कर्मचारीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस घटनाबाट आफूहरू स्तब्ध भएको बताएका छन् । उनले भने, ‘यो अत्यन्तै भयानक छ । हामीले सटर त मर्मत गरौँला, तर फेरि पनि यस्तै घटना दोहोरिने हो कि भन्ने डरले हामीलाई सताइरहेको छ ।’
पछिल्लो समय जापानमा पोकेमोन कार्डहरूको मूल्य अत्यधिक बढेका कारण यस्ता कार्डहरू लक्षित लुटपाटका घटनाहरू बढ्न थालेका छन् । प्रहरीले सीसीटीभी फुटेजको आधारमा लुटेराहरूको खोजी कार्य तीव्र पारेको जनाएको छ ।








