टोकियो – जापानमा यस वर्षको ‘गोल्डेन विक’को सुरुवातसँगै मौसममा ठूलो बदली आउने प्रक्षेपण गरिएको छ । न्यून चापीय प्रणाली विकसित भई होन्शुको दक्षिणी तटीय क्षेत्र हुँदै अगाडि बढ्ने भएकाले अप्रिल ३० देखि मे १ तारिखसम्म क्युशुदेखि कान्तो क्षेत्रको प्रशान्त महासागरीय तटीय इलाकामा भारी वर्षा र तीव्र हावाहुरी चल्ने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।
मौसमविद्हरूका अनुसार यो समयमा केही स्थानमा ‘चेतावनी तह’को वर्षा हुनसक्ने भएकाले सडक डुबान तथा बाढीको उच्च जोखिम रहेको छ । गोल्डेन विकको पहिलो दिन, भोलि बुधबार – शोवा दिवसका दिन होकुरिकु र तोहोकु क्षेत्रमा बिहानीपख वर्षा हुनेछ । यस्तै, ओकिनावामा न्यून चापीय प्रणाली नजिकिएसँगै रातिदेखि वर्षा सुरु हुने र साकिशिमा टापु समूहमा भीषण वर्षाको सम्भावना छ। क्युशुको दक्षिणी क्षेत्रमा पनि भोलिदेखि नै पानी पर्न थाल्नेछ ।
अप्रिल ३० र मे १ का दिन प्रशान्त महासागरीय क्षेत्रमा न्यानो र ओसिलो हावाको प्रभावले वर्षा अझ सशक्त हुने अनुमान छ । कतिपय स्थानमा २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा हुनसक्ने देखिएकाले सतर्क रहन भनिएको छ । तटीय क्षेत्रहरूमा वर्षासँगै तीव्र हावा चल्ने भएकाले जनजीवन प्रभावित हुनसक्नेछ ।
मे २ (शनिबार) देखि न्यून चापीय प्रणाली उत्तरतर्फ मोडिने भए पनि उत्तरी जापानमा हावाको वेग कायमै रहनेछ । यद्यपि, क्युशुदेखि कान्तो क्षेत्रमा भने मौसममा सुधार आउने र तापक्रम २५ डिग्री सेल्सियसभन्दा माथि पुगेर गर्मी बढ्ने अनुमान गरिएको छ । अचानक बढ्ने गर्मीका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।
बिहान सार्वजनिक गरिएको तथ्याङ्क अनुसार ओकिनावाको याएयामा क्षेत्रमा आज रातिदेखि नै ‘मध्यम’ स्तरको चेतावनी जारी गरिएको छ । अप्रिल ३० मा ओकिनावा, कागोशिमा, कोची र तोकुशिमामा भारी वर्षाको सम्भावना छ । मे १ मा भने कोची, एहिमे, तोकुशिमा, शिजुओका, कानागावा, चिबा, इबाराकी र इजु टापुहरूमा वर्षाको उच्च प्रभाव रहनेछ ।








