टोकियो – जापानी सेयर बजारको प्रमुख सूचकांक ‘निक्केई २२५’ ले साताको पहिलो दिन नै ऐतिहासिक उचाइ कायम गर्दै नयाँ रेकर्ड राखेको छ । सोमबारको कारोबारमा निक्केईले ६०,००० को मनोवैज्ञानिक विन्दुलाई पुनः पार गर्दै कारोबारकै क्रममा अहिलेसम्मकै उच्च विन्दु चुम्न सफल भएको हो ।
गत बिहीबार इतिहासमै पहिलोपटक ६०,००० को विन्दु छोएको निक्केईमा सोमबार थप उत्साह देखियो । दिउँसोको सत्रमा एक समय सूचक १,१०० अंक (१.८ प्रतिशत) भन्दा बढीले वृद्धि भएको थियो ।
अमेरिकी सेयर बजारमा प्रविधि क्षेत्रको बाहुल्य रहेको ‘नास्डाक’ सूचकले गत शुक्रबार नयाँ रेकर्ड कायम गरेपछि त्यसको प्रत्यक्ष प्रभाव टोकियो स्टक एक्सचेन्जमा देखिएको हो। लगानीकर्ताहरूले विशेषगरी सेमिकन्डक्टर (अर्धचालक) सँग सम्बन्धित कम्पनीहरूको सेयरमा झुकाव देखाएका छन् ।
आर्टिफिसियल इन्टेलिजेन्स उद्योगको भविष्य र यसबाट हुने मुनाफाप्रति लगानीकर्ताहरू निकै सकारात्मक देखिएका छ न्। एआई क्षेत्रमा भइरहेको तीव्र विकासले गर्दा यससँग सम्बन्धित चिप निर्माता र प्रविधि कम्पनीहरूको सेयर मूल्य अकासिँदा समग्र बजार परिसूचक ऐतिहासिक उचाइमा पुगेको हो ।
विशेषज्ञहरूका अनुसार विश्वव्यापी बजारमा प्रविधि सेयरको दबदबा र जापानका ठूला कम्पनीहरूको बलियो वित्तीय अवस्थाका कारण निक्केईले यो ऐतिहासिक सफलता प्राप्त गरेको हो ।








