Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – फेब्रुअरीको अन्त्यतिर इरान युद्ध सुरु भएयता पहिलोपटक अमेरिकी कच्चा तेल बोकेको ट्याङ्कर जापान आइपुगेको छ । मध्यपूर्वमा जारी तनावका कारण तेल आपूर्तिमा अवरोध सिर्जना भइरहेका बेला अमेरिकाबाट आएको यो ढुवानीलाई जापानको ऊर्जा सुरक्षाका लागि एक महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ ।

कच्चा तेल खरिद गर्ने कम्पनी ‘कस्मो इनर्जी होल्डिङ्स’का अनुसार उक्त ट्याङ्कर टोकियो खाडीमा अवतरण गरेको हो । ट्याङ्करले १ लाख ४५ हजार किलोलिटर तेल ल्याएको छ, जुन परिमाण जापानको आधा दिनको आन्तरिक खपत बराबर हो ।

इरानसँग अमेरिका र इजरायलको बढ्दो द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिको मुख्य धमनी मानिने ‘हर्मुज जलडमरू’ अहिले प्रभावकारी रूपमा बन्द छ । जापान आफ्नो कुल कच्चा तेल आयातको ९० प्रतिशतभन्दा बढी हिस्साका लागि मध्यपूर्वमा निर्भर छ र ती अधिकांश तेल ट्याङ्करहरू यही मार्ग भएर जापान आउनुपर्ने बाध्यता थियो ।

यसपटकको ढुवानीमा भने जोखिमपूर्ण मध्यपूर्वी मार्गलाई छलेर वैकल्पिक बाटो रोजिएको छ । यो ट्याङ्कर गत मार्च २२ मा अमेरिकाको टेक्सासबाट प्रस्थान गरेको थियो र साना जहाजहरू चल्न सक्ने ‘पानामा नहर’ हुँदै जापान आइपुगेको हो ।

जापान सरकार र यहाँका तेल थोक बिक्रेताहरूले हर्मुज जलडमरूको अवरोधलाई ध्यानमा राख्दै तेल आपूर्तिका लागि वैकल्पिक मार्ग र नयाँ स्रोतहरू सुरक्षित गर्ने प्रयास गरिरहेका छन् । अबका दिनमा अमेरिकाबाहेक दक्षिण अमेरिका र मध्य एसियाली मुलुकहरूबाट पनि तेल खरिद गर्ने प्रक्रियालाई तीव्रता दिइने सरकारले जनाएको छ ।

मध्यपूर्वको अस्थिरताले गर्दा इन्धनको मूल्य र आपूर्तिमा पर्न सक्ने दीर्घकालीन असरलाई न्यूनीकरण गर्न जापानले आफ्नो ऊर्जा रणनीतिमा फेरबदल गर्दै आयातका स्रोतहरूलाई विविधीकरण गर्न लागेको विज्ञहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया