टोकियो – मध्यपूर्वमा बढ्दो सैन्य तनावका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध सिर्जना भएपछि जापानको निर्माण क्षेत्रमा गम्भीर संकट देखा परेको छ । कच्चा तेलबाट बन्ने निर्माण सामग्रीको अभाव र अचाक्ली मूल्यवृद्धिका कारण जापानभरका आवासीय भवनहरूको मर्मतदेखि सार्वजनिक पूर्वाधारका कामहरू धमाधम रोकिन थालेका छन् । यस परिस्थितिलाई विज्ञहरूले ‘रेइवा युगको तेल संकट’ को संज्ञा दिएका छन् ।
जापानका विभिन्न प्रान्तहरूमा ठूला ‘कन्डोमिनियम’ (आवासीय भवन) हरूको जीर्णोद्धार कार्य बीचैमा रोकिएको छ । साइतामा प्रान्तको एक आवासीय भवनमा मार्चदेखि सुरु भएको मर्मत कार्य अप्रिलको मध्यमा आएर ठप्प भयो । निर्माण कम्पनीहरूले मध्यपूर्वको तनावका कारण पेट्रोकेमिकल उत्पादनहरू उपलब्ध गराउन नसकेको भन्दै काम रोकेका हुन् । यसले गर्दा महिनौँदेखि बाल्कोनी प्रयोग गर्न नपाएका बासिन्दाहरू अन्योलमा परेका छन् ।
निर्माण सामग्री उत्पादकहरूले अर्डर लिन बन्द गरेका छन् भने कतिपयले मूल्यमा २० देखि ३० प्रतिशतसम्म वृद्धि गरेका छन् । सडक कालोपत्रेका लागि प्रयोग हुने ‘आस्फाल्ट’को मूल्य अघिल्लो महिनाको तुलनामा करिब ४६ प्रतिशतले बढेको छ । पेन्ट, इन्सुलेशन सामग्री र वाटरप्रुफिङ शिटहरूको अभावका कारण साना तथा मझौला निर्माण कम्पनीहरू टाट पल्टिने जोखिम बढेको छ ।
यो संकट केवल निजी भवनहरूमा मात्र सीमित छैन । होक्काइडोको आसाबु नगरपालिकाले सडक मर्मत र ऐतिहासिक स्थलहरूको संरक्षणका लागि तय गरेको टेन्डर प्रक्रिया नै स्थगित गरेको छ । इन्धनको मूल्य वृद्धि र निर्माण सामग्रीको अभावले सरकारी परियोजनाहरू पनि अनिश्चित बनेका छन् ।
‘तेइकोकु डाटाबैंक’ को प्रतिवेदनअनुसार जापानका करिब ३० प्रतिशत उत्पादकहरू कच्चा तेलमा आधारित सामग्रीको अभाव र आपूर्ति श्रृंखलामा आएको अवरोधका कारण जोखिममा छन् । यसमा निर्माण क्षेत्र मात्र नभई सवारी साधनका पार्टपुर्जा, औषधि र कृषि रसायन उत्पादकहरू समेत समेटिएका छन् ।








