काठमाडौँ – बुटवल उपमहानगरपालिका–४ मा रहेको उच्च अदालत तुलसीपुर, बुटवल इजलास अगाडिको सरकारी जग्गाबाट अवैध संरचना हटाउने काम सुरु गरिएको छ। उक्त जग्गामा बनेका घरटहरा हटाउन स्थानीय प्रशासनले अभियान अघि बढाएको हो।
करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा फैलिएको जग्गा पहिले लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा थियो। पछि सो कार्यालय खारेज भएपछि सरकारले उक्त जग्गा उच्च अदालतलाई प्रयोगका लागि दिएको थियो।
नगरपालिकाले शनिबार साँझ सूचना जारी गर्दै संरचना हटाउन निर्देशन दिएको थियो। त्यसपछि अवैध रूपमा बनाइएका टहरा हटाउन सुरु गरिएको हो। उक्त क्षेत्रमा बार एशोसिएसन र प्रदेश प्रमुखको कार्यालयसँग सम्बन्धित संरचना पनि रहेका कारण ती सरकारी जग्गाभित्र पर्छन् वा पर्दैनन् भन्नेबारे अध्ययन भइरहेको छ। यहाँ रहेका अधिकांश टहरा चिया पसल र रेष्टुरेन्टका रूपमा सञ्चालनमा रहेका छन्।








