टोकियो – जापानको हक्काइडोस्थित प्रसिद्ध ‘असाहियामा चिडियाखाना’का एक कर्मचारीलाई एक महिलाको शव जनावर जलाउने भट्टी (इन्सिनेरेटर) मा फालेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा ती व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरी शव व्यवस्थापनका लागि चिडियाखानाको शवदाह गृह प्रयोग गरेको स्वीकार गरेका छन् ।
प्रहरी स्रोतका अनुसार, ३० को दशकमा रहेका ती व्यक्तिले आफ्नी श्रीमतीको शव उक्त भट्टीमा हालेको बयान दिएका छन् । यद्यपि, प्रहरीले घटनास्थलमा कुनै शव फेला पार्न सकेको छैन । ती व्यक्तिको बयानका आधारमा शव पूर्ण रूपमा जलेर खरानी भइसकेको हुन सक्ने अनुमान गर्दै प्रहरीले खरानीको नमुना संकलन गरी अनुसन्धान अगाडि बढाएको छ ।
मार्चको अन्त्यदेखि ३० वर्षकै उमेरकी एक महिला सम्पर्कविहीन भएपछि उनका नजिकका व्यक्तिले यसै महिना प्रहरीलाई खबर गरेका थिए । उनी हराएदेखि नै प्रहरीले खोजी गरिरहेको थियो । पक्राउ परेका व्यक्ति असाहिकावा सहरका सरकारी कर्मचारी हुन् र उनी उक्त लोकप्रिय चिडियाखानामा कार्यरत थिए ।
नयाँ सिजनको तयारीका लागि उक्त चिडियाखाना विगत दुई हप्तादेखि सर्वसाधारणका लागि बन्द थियो। आगामी बुधबारदेखि मात्रै चिडियाखाना खुल्ने तयारीमा थियो । चिडियाखानाभित्र रहेको उक्त शवदाह गृह सामान्यतया त्यहाँका जनावरहरूको मृत्युपछि उनीहरूको अन्तिम संस्कारका लागि प्रयोग गरिन्छ । प्रहरीले शुक्रबार उक्त दाहसंस्कार क्षेत्र र वरपरको स्थानको सूक्ष्म निरीक्षण गरेको छ।








