टोकियो – मध्यपूर्वमा जारी तनावका कारण विश्वव्यापी रूपमा बढेको इन्धनको मूल्य र आपूर्तिमा आएको अवरोधले जापानको ऐतिहासिक ‘सेन्तो’ (सार्वजनिक स्नानगृह) संस्कृतिलाई गहिरो संकटमा पारेको छ । बढ्दो लागत धान्न नसकेपछि धेरैजसो स्नानगृहहरूले आफ्नो सेवा अवधि छोट्याउन थालेका छन् भने कतिपय सधैँका लागि बन्द हुने तयारीमा छन् ।
पहिलेदेखि नै कम ग्राहक र उत्तराधिकारीको अभाव जस्ता समस्यासँग जुधिरहेका यी ‘सेन्तो’ हरूका लागि तेलको मूल्यमा भएको भारी वृद्धि ‘मर्नु न बाँच्नु’ को अवस्था बनेको छ । सरकारी नियमनका कारण ग्राहकसँग लिइने शुल्क बढाउन नपाइने भएपछि सञ्चालकहरू थप मारमा परेका हुन् ।
मध्य जापानको आइची प्रान्तस्थित सुसिमामा सन् १९१९ देखि सञ्चालित ‘इकेसु ओन्सेन’ यतिबेला संकटसँग जुधिरहेको छ । इन्धनको आपूर्ति अनिश्चित भएपछि यसले आफ्नो खुल्ने समय एक घण्टा ढिलो गरेको छ । मासिक झण्डै एक टनसम्म तेल खपत गर्ने यस स्नानगृहले अहिले आधा मात्रै तेल पाइरहेको छ, जसका कारण दैनिक ग्राहकको सङ्ख्यामा समेत गिरावट आएको छ । ‘यो हाम्रा लागि ठूलो धक्का हो,” सञ्चालक ५७ वर्षीया आत्सुको मात्सुईले भनिन्, ‘आपूर्तिकर्ताले जे-जति मूल्य तोक्छन्, हामीसँग त्यो स्वीकार्नुको विकल्प छैन ।’
इरानमाथि भएको आक्रमण र हर्मुज जलडमरूमा ट्याङ्करहरूको आवागमनमा परेको अवरोधका कारण जापानमा इन्धनको आपूर्ति प्रणाली बिग्रिएको छ । यसको असर देशभर देखिन थालेको छ । उत्तरी सहर ओमोरीको ‘कात्सुरागी ओन्सेन’ ले त आगामी मे महिनाको अन्त्यदेखि व्यवसाय नै बन्द गर्ने निर्णय गरिसकेको छ ।
स्नानगृहका प्रमुख ५७ वर्षीय मासायोशी यामागूची भन्छन्, ‘तेलको भाउ हरेक हप्ता बढिरहेको छ, स्थिर हुने कुनै संकेत छैन। हामीसँग ग्राहक त पर्याप्त छन्, तर यो लागतमा व्यवसाय टिकाइराख्न असम्भव छ ।’
जापान नेशनल सेन्तो एशोसिएशनका अनुसार जापानका करिब ३० प्रतिशत सार्वजनिक स्नानगृहहरू तेलबाट चल्ने बोयलरमा निर्भर छन् । झण्डै ६० वर्षअघिको तुलनामा अहिले यी स्नानगृहहरूको सङ्ख्या घटेर १२ भागको एक भागमा सीमित भएको छ । दोस्रो विश्वयुद्ध लगत्तै लागू गरिएको मुद्रास्फीति नियन्त्रण सम्बन्धी कानुन अन्तर्गत यी स्नानगृहको शुल्क प्रान्तीय गभर्नरहरूले तोक्ने गर्छन् । यसले गर्दा लागत बढे पनि सञ्चालकहरूले आफूखुसी मूल्य बढाएर घाटा कम गर्न पाउँदैनन् ।








