टोकियो – जापानको अन्तरिक्ष एजेन्सी ‘जाक्सा’ले आफ्नो अत्याधुनिक ‘एच-थ्री’ रकेटको आगामी प्रक्षेपणका लागि जुन १० को मिति घोषणा गरेको छ । सन् २०२५ को डिसेम्बरमा भएको उडान असफल भएपछि जापानले यसपटक नयाँ तयारीका साथ पुनरागमन गर्न लागेको हो ।
जाक्साका अनुसार, दक्षिण-पश्चिमी जापानको तान्गासिमा अन्तरिक्ष केन्द्रबाट स्थानीय समय अनुसार बिहान ९:५३:५९ बजे २ घण्टाको समय सीमा (Window) भित्र रकेट प्रक्षेपण गरिनेछ ।
‘टाइप ३० टेस्ट भेइकल’ नाम दिइएको यो रकेट नयाँ प्रविधिको हो, जसमा ‘बूस्टर’हरूको प्रयोग गरिएको छैन । सन् २०२५ को डिसेम्बरमा भूउपग्रहलाई आफ्नो कक्षमा पुर्याउन असफल भएपछिको यो नै पहिलो एच-थ्री उडान हुनेछ । अघिल्लो पटक रकेटको माथिल्लो भागमा प्रयोग गरिएको ‘एडहेसिभ’ (टाँस्ने पदार्थ) उप्किएर पार्टपुर्जाहरू बीच खाली ठाउँ सिर्जना भएका कारण मिसन असफल भएको जाक्साको निष्कर्ष छ ।
यसपटकको प्रक्षेपणमा जाक्साले सोही पुरानो ‘बोन्डिङ’ विधि प्रयोग गरे तापनि त्यसमा केही प्राविधिक मर्मत र सुधार गरेको छ । यस उडानको मुख्य उद्देश्य प्रक्षेपणको समयमा रकेटको संरचनामा पर्ने भार र प्रभावको तथ्याङ्क सङ्कलन गर्नु हो, जसबाट अघिल्लो विफलताको वास्तविक कारण थप स्पष्ट हुनेछ । यसपटक रकेटले वास्तविक भूउपग्रहको सट्टा त्यसकै तौल र आकार बराबरको नक्कली संरचना बोक्नेछ ।
एच-थ्री रकेटका साथै सानो आकारको ‘एप्सिलन एस’ रकेट विकासमा देखिएका प्राविधिक कठिनाइहरूले गर्दा जापानले पछिल्लो समय आफ्नै भूउपग्रहहरू अन्तरिक्षमा पठाउन चुनौती भोगिरहेको छ । यस्तो अवस्थामा जुन १० मा हुने यो प्रक्षेपण जापानको भविष्यको अन्तरिक्ष क्षमता र अन्तर्राष्ट्रिय बजारमा उसको शाखका लागि निकै महत्त्वपूर्ण मानिएको छ ।








