टोकियो – दशकौँ पुरानो हतियार निर्यात सम्बन्धी प्रतिबन्धलाई खुकुलो बनाउने सरकारको निर्णयविरुद्ध शुक्रबार टोकियोमा विशाल विरोध प्रदर्शन भएको छ । जापानले आफ्नो दोस्रो विश्वयुद्ध पछिको ‘शान्तिवादी छवि’ त्याग्न लागेको भन्दै अधिकारकर्मी र सर्वसाधारण सडकमा उत्रिएका हुन् ।
प्रधानमन्त्री सानाए ताकाइचीको सरकारले यसै साता मंगलबार घातक हतियारहरू विदेशमा बिक्री गर्न अनुमति दिने गरी नयाँ नियम घोषणा गरेको थियो । जापानले आफ्नो रक्षा क्षमता सुदृढ गर्न र विश्वव्यापी हतियार बजारमा प्रवेश गरी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।
राजधानीको व्यस्त सिन्जुक्कु स्टेसन बाहिर भेला भएका दर्जनौँ प्रदर्शनकारीहरूले ‘घातक हतियार निर्यात बन्द गर’ र ‘हामीलाई युद्ध चाहिँदैन’ लेखिएका प्लेकार्डहरू बोकेका थिए। प्रदर्शनकारीहरूले ‘सरकारले एकलौटी निर्णय गर्न पाउँदैन’ भन्दै नाराबाजी गरेका थिए ।
प्रदर्शनमा सहभागी ७४ वर्षीय रियोजो सावादाले एएफपीसँग कुरा गर्दै सरकारको यो नीतिगत परिवर्तनबाट आफूलाई ‘असह्य अपमान’ महसुस भएको बता ए। उनले भने, ‘बाल्यकालदेखि नै जापानको बारेमा मलाई गर्व लाग्ने एउटै कुरा भनेको हामीले युद्ध त्याग गरेका थियौँ भन्ने थियो । अहिले हतियार निर्यात गर्ने निर्णय हुनु निकै डरलाग्दो कुरा हो ।’
त्यस्तै, ३१ वर्षीया लेखक युरा सुजुइकेले जापान विश्वभर भइरहेका अर्थहीन हिंसाको हिस्सा बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘दोस्रो विश्वयुद्धमा जापानले आक्रमणको बाटो रोज्दा ठूलो क्षति बेहोर्नुपरेको थियो, त्यसैले फेरि कहिल्यै युद्ध नगर्ने र मान्छे नमार्ने संकल्पका साथ हाम्रो संविधान बनाइएको थियो ।’
यसअघि जापानले खोज तथा उद्धार, यातायात, चेतावनी, निगरानी र बारुदी सुरुङ हटाउने जस्ता पाँचवटा सीमित क्षेत्रमा मात्र रक्षा उपकरण निर्यात गर्न पाउने व्यवस्था थियो। तर नयाँ नियमले अब घातक हतियार निर्यातको बाटो खोलेको छ । यद्यपि, सरकारले संयुक्त राष्ट्रसंघको बडापत्र पालना गर्ने देशहरूलाई मात्र हतियार बेचिने दाबी गरेको छ ।
प्रधानमन्त्री ताकाइचीले नियम फेरिए पनि जापानको ‘शान्तिवादी इतिहास र मूल सिद्धान्त’ अपरिवर्तित रहने बताएकी छिन् । तर, चीनले यस कदमको कडा आलोचना गरेको छ ।








