टोकियो – जापानको गिफु प्रान्तस्थित ताकायामामा एक नर्सरी स्कुलकी शिक्षिकालाई बालिकामाथि कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ५९ वर्षीया फुमिको यामामोतोलाई आफू कार्यरत विद्यालयमै एक सानी बालिकालाई शारीरिक चोट पुर्याएको आशंकामा नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार यामामोतोले गत अप्रिल २१ मा दिउँसो १ बजेतिर नर्सरी स्कुलमै ती बालिकाको अनुहारमा थप्पड हानेको र टाउकोको पछाडिको भागमा प्रहार गरेको आरोप लागेको छ । उक्त विद्यालयका निर्देशकले बिहीबार प्रहरीलाई सम्पर्क गरी आफ्ना कर्मचारीबाट बच्चामाथि दुर्व्यवहार भएको जानकारी गराएका थिए । विद्यालय प्रशासनको उजुरी लगत्तै प्रहरीले कारबाही अगाडि बढाएको थियो ।
पक्राउ परेकी यामामोतोले भने आफूमाथि लागेको आरोपको खण्डन गरेकी छिन्। क्योदो न्युजका अनुसार उनले प्रहरी बयानमा बालिकालाई कुटपिट नगरेको दाबी गरेकी छिन् । हालसम्म उक्त नर्सरी स्कुलमा अन्य कुनै पनि कुटपिट वा दुर्व्यवहारका घटनाहरू पुष्टि नभएको प्रहरीले जनाएको छ । प्रहरीले शिक्षिकाले कुन परिस्थितिमा बच्चामाथि हात हालिन् भन्नेबारे थप अनुसन्धान गरिरहेको छ ।








