नागोया – जापानको नागोया शहरमा हुने नेपाल फेस्टिबलको तयारी तीव्र पारिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रीय समन्वय परिषद् नागोयाको आयोजनामा आउँदो मे महिना ३०, ३१ तथा जुन १ तारिखका दिन चौथो नेपाल फेस्टिबल एवं एक्सपो-२०२६ साकायको हिसाया डोरी पार्कमा सञ्चालन हुन लागेको हो ।
एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक योमन देवानले फेस्टिबलको तयारी तीव्र पारिएको बताए । उनले नेपाल र नेपालीको पहिचानलाई जापानी समुदायमा परिचित गराउनका लागि नेपाल फेस्टिबलमा सम्पूर्ण नेपालीहरूलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।
नेपाली कला, संस्कृति, रहनसहन र पर्यटनबारे जापानमा रहेका नेपाली र जापानी नागरिकहरूलाई जानकारी गराउने उद्देश्यले फेस्टिबलको आयोजना गरिएको एनआरएनए नागोयाका निवर्तमान संयोजक एवम् चौथो नेपाल फेस्टिबल मूल आयोजक समितिका संयोजक भेषनाथ गौतमले जानकारी दिएका छन् । फेस्टिबलमा नेपालका दूरदराजमा समेत प्रयोग हुने ढिकी, जातो लगायत थुप्रै चलनचल्तीका सामानहरू हेर्न पाइने संयोजक गौतमले जानकारी दिए ।
आयोजकका अनुसार फेस्टिबल ‘हाइटेक प्रविधि’ को हुनेछ । स्क्रिनमार्फत फेस्टिबलका सम्पूर्ण गतिविधि हेर्न पाइने छ भने नेपालको संस्कृति र पर्यटनबारेको भिडियो पनि प्रसारण गरिनेछ । नेपाल फेस्टिबलमा आइची प्रिफेक्चर गभर्नर, नागोया सिटीका मेयर, नेपाली राजदूतावास जापानका राजदूत लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।
साथै कार्यक्रममा जापान र जापान बाहिरबाट एनआरएनए अभियन्ताहरूको उपस्थिति रहने एनआरएनए अभियन्ता एवं फेस्टिबलका आर्थिक संयोजक दीपक कार्कीले बताए । उनका अनुसार फेस्टिबलबाट बचत हुने रकम जापानको नागोया शहरमा निर्माण गर्ने लक्ष्य राखिएको ‘नेपाली घर’ मा लगाइने छ ।
फेस्टिबलका सांस्कृतिक संयोजक सोनाम दोर्जे शेर्पाका अनुसार फेस्टिबलमा नेपाली लोकबाजा, पञ्चेबाजा, विभिन्न झाँकीहरू प्रस्तुत गरिनेछन् । किराँत, तामाङ, मगर लगायत विभिन्न जनजातिका नृत्य र जापानमै रहेका नेपाली कलाकारहरूको प्रस्तुति पनि कार्यक्रममा राखिएका छन् ।
नेपाली दूतावास टोकियोको सहयोग एवम् जापानस्थित संघसंस्थाहरू, जापानको स्थानीय सरकार आइचिकन, नागोया-सी लगायत पनि फेस्टिबलमा सहभागी हुनु राम्रो पक्ष भएको बताइएको छ । फेस्टिबलमा खानाका स्टलहरू बुकिङ भइसकेको स्टल व्यवस्थापन समितिका संयोजक सीपी भुसालले जानकारी दिए । खानाबाहेक अन्य स्टलहरू बुकिङ भइरहेको उनले बताए ।
यसैबीच, फेस्टिबल सम्पन्न गर्नका लागि विभिन्न उप-समितिहरूले आफ्नो काम गरिरहेको बताइएको छ । कार्यक्रममा प्रवेश नि:शुल्क रहने आयोजकले जानकारी दिएको छ । ठूलो संख्यामा दर्शक तथा सहभागीको उपस्थितिको अपेक्षा गरिएको यस फेस्टिबलले जापानमा नेपाली समुदायको पहिचान अझ मजबुत बनाउने विश्वास गरिएको छ ।








