काठमाडौँ – नेपाली कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने तयारी गरेको छ। यस विषयमा बिहीबार सिंहदरबारस्थित दलको कार्यालयमा सांसदहरूबीच छलफल भएको थियो। सम्भव भएसम्म सहमतिमै नेता चयन गर्ने प्रयास गरिने, नभए निर्वाचनमार्फत टुंगो लगाइने एक नेताले बताएका छन्।
कार्यतालिकाअनुसार शुक्रबार बिहान उम्मेदवारी दर्ता गरिनेछ भने दिउँसो मतदान हुनेछ। सम्भव भएसम्म सोही दिन मतगणना गरेर नतिजा सार्वजनिक गरिने तयारी छ। यसअघि निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरिसकेको छ। छलफलका क्रममा संसदीय काम प्रभावकारी बनाउन विषय विज्ञसहितको समन्वय बोर्ड गठन गर्ने प्रस्ताव पनि अघि बढाइएको छ। यसबारे कार्यसम्पादन समितिले निर्णय गर्नेछ।
प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन्। दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य प्रमुख दाबेदारका रूपमा देखिएका छन्।








