टोकियो – विश्वकै तीव्र गतिमा वृद्धवृद्धाको संख्या बढिरहेको मुलुक जापानमा चिकित्सकहरूको अभाव ‘गम्भीर’ बाट ‘संकटपूर्ण’ अवस्थातर्फ मोडिएको छ । पछिल्लो समय जापानी युवाहरू चिकित्सा क्षेत्रको कठोर परिश्रम र न्यून प्रतिफलका कारण जटिल विधाका चिकित्सक (स्पेशलिस्ट) बन्न अनिच्छुक देखिएका छन्, जसले जापानको स्वास्थ्य प्रणालीमाथि नै ठूलो प्रश्नचिन्ह खडा गरिदिएको छ ।
‘जोसेइ जिशिन’ पत्रिकाको रिपोर्ट अनुसार, ओईसीडी मुलुकहरूको औसत प्रति १० हजार जनसंख्यामा ३७ चिकित्सक रहेकोमा जापानमा यो संख्या केवल २६ मात्र छ । तुलनात्मक रूपमा क्युबामा ८५, चीनमा ३१ र अमेरिकामा ३७ डाक्टर रहेका छन् । ८० र ९० वर्ष नाघेका वृद्धवृद्धाको संख्या अत्यधिक रहेको जापानका लागि यो तथ्यांक निकै चिन्ताजनक हो ।
युवा चिकित्सकहरूमा अहिले’मेरो लागि यसमा के छ ?’ (What’s in it for me?) भन्ने सोच हावी हुँदै गएको छ । वर्षौंसम्मको कडा तालिम, कामको अत्यधिक दबाब, २४सै घण्टा आपतकालीन सेवामा खटिनुपर्ने बाध्यता र निजी जीवनको अभावका कारण धेरैले सजिला विधाहरू रोज्न थालेका छन् ।
विशेषगरी जापानमा मृत्युको मुख्य कारण मानिने ‘पेटको क्यान्सर’ को उपचार गर्ने ग्यास्ट्रोइन्टेस्टाइनल सर्जनहरूको संख्या सन् २०४३ सम्ममा ५० प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । मुटुको शल्यक्रिया गर्ने चिकित्सकको अभावमा बिरामीले समयमा उपचार नपाएर ज्यान गुमाउनुपरेका घटनाहरू सार्वजनिक हुन थालेका छन् । सिजुओका प्रान्तमा मात्रै ३० प्रतिशतभन्दा बढी निजी क्लिनिकहरू पुराना डाक्टरले अवकाश लिएपछि उत्तराधिकारी नपाएर बन्द भएका छन् ।
ग्रामीण भेगका अस्पतालले सहरको तुलनामा १.५ गुणा बढी तलब अफर गर्दा पनि युवा डाक्टरहरू दुर्गममा जान मानिरहेका छैनन् । टोकियो नजिकैका साइतामा र चिबा जस्ता प्रान्तहरूमा डाक्टरको अभाव ग्रामीण भेगको तुलनामा अझ बढी छ । राष्ट्रिय औसत २६७ डाक्टर प्रति १ लाख जनसंख्या हुँदा साइतामामा यो संख्या १८९ मात्र छ ।
चिकित्सकको चरम अभाव भएपछि अस्पतालहरूले कर्मचारी छनोटमा कडाइ गर्न छाडेका छन् । हतारमा गरिने नियुक्तिका कारण चिकित्सक र नर्सहरूबाटै बिरामीमाथि यौन दुर्व्यवहार भएका घटनाहरू पनि बढ्न थालेका छन् । फुकुसिमा र अन्य क्षेत्रका अस्पतालहरूमा बिरामीको विश्वासमाथि घात भएका विवरणहरूले चिकित्सा क्षेत्रको नैतिकतामाथि नै दाग लगाइदिएको छ ।








