काठमाडौँ – सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले यस्तो निर्णय गरेको हो।
अदालतले खड्कालाई हिरासतमा राख्दा आवश्यक कानुनी प्रक्रिया पूरा नभएको ठहर गरेको छ। आदेशमा पक्राउ पुर्जी र म्याद थप कानुनअनुसार नभएको उल्लेख गर्दै अनुसन्धान हिरासत बाहिरै बसेर गर्न सकिने बताइएको छ।
यद्यपि, विदेश जानुपरे सम्बन्धित अदालतबाट अनुमति लिनुपर्ने शर्त राखिएको छ। संक्षिप्त आदेश जारी गरिएको र पूर्णपाठ पछि आउने जनाइएको छ। खड्का चैत १५ गते सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो।








