Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – नेपाल टेलिकमले मोबाइल सेवामा ‘सब्स्क्रिप्सन मोडल’ लागू गर्ने तयारी गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको १० बुँदे सुधारात्मक कार्ययोजनामा यो मोडल समावेश गरेपछि टेलिकमले कार्यान्वयन प्रक्रिया अघि बढाएको हो।

यस मोडल लागू भएपछि ग्राहकले आफूलाई आवश्यक पर्ने प्याकेज एकपटक सब्स्क्राइब गरेपछि स्वतः नवीकरण हुने सुविधा पाउनेछन्। यसले पटक–पटक प्याकेज खरिद गर्नुपर्ने झन्झट हटाउनेछ भने ग्राहकले चाहेको बेला सेवा सक्रिय वा निष्क्रिय गर्न पनि सक्नेछन्। हाल नेपाल टेलिकमले २९९ रुपैयाँमा ३० दिनसम्म चल्ने प्रिपेड कम्बो प्याकेज बजारमा ल्याइसकेको छ र आगामी दिनमा यस्ता सेवाहरू थप विस्तार गर्ने योजना बनाइएको छ।

सरकारको कार्ययोजनाअनुसार मोबाइल डेटा सेवामा सुधार गर्दै ९० प्रतिशत डेटा प्रयोगपछि ग्राहकलाई सूचना पठाउने, ‘पे–एज–यु–गो’ (पेजी) सेवा निष्क्रिय गर्ने विकल्प दिने र सब्स्क्रिप्सन मोडलमा सेवा सञ्चालन गर्न सकिने व्यवस्था लागू गरिनेछ। टेलिकमले यस सम्बन्धमा आवश्यक तयारी सुरु गरिसकेको जनाएको छ।

निजी सेवा प्रदायक एनसेलले पनि यो मोडललाई दीर्घकालीन रूपमा आवश्यक बताउँदै आएको छ। कम्पनीका अनुसार सब्स्क्रिप्सन मोडल लागू भएमा भ्वाइस, डेटा र कम्बो प्याकहरू हालको पेजी प्रणालीभन्दा सस्तो पर्नेछन्। साथै, यसले कम्पनीलाई आम्दानी सुनिश्चित गर्न र फाइभजीजस्ता नयाँ प्रविधिमा लगानी गर्न सहयोग पुग्ने उनीहरूको तर्क छ।

तर, नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भने सेवा प्रदायकहरूले ल्याउने मोडालिटी र महसुल दरको अध्ययनपछि मात्र स्वीकृति दिने स्पष्ट पारेको छ।

दूरसञ्चार क्षेत्रका विज्ञ आनन्दराज खनालले भने यो मोडल सबैका लागि उपयुक्त नहुन सक्ने बताएका छन्। उनका अनुसार मासिक निश्चित शुल्क तिर्नुपर्ने भएकाले कम खर्च गर्ने वा न्यून आय भएका ग्राहकलाई आर्थिक भार पर्न सक्छ। ‘यो पोस्टपेड सेवा जस्तै हो, जहाँ प्रयोग गरे पनि नगरे पनि निश्चित शुल्क तिर्नुपर्छ,’ उनले भने।

विज्ञहरूले सबै ग्राहकलाई एउटै ढाँचामा राख्नुको सट्टा खर्चको आधारमा वर्गीकरण गरेर मात्र यस्तो मोडल लागू गर्नुपर्ने सुझाव दिएका छन्। साथै, हालको पेजी प्रणालीमा प्याकेज सकिएपछि जानकारी नदिई मुख्य ब्यालेन्सबाट रकम काटिने समस्याले ग्राहकलाई हैरानी दिने गरेको पनि औंल्याइएको छ।

सेवा प्रदायकहरू भने टेलिकम उद्योगको दीर्घकालीन स्थायित्व र विकासका लागि सब्स्क्रिप्सन मोडल आवश्यक रहेको दाबी गर्छन्। पछिल्ला वर्षहरूमा टेलिकम कम्पनीहरूको आम्दानी घट्दै गएको सन्दर्भमा यो मोडलले बजारलाई पूर्वानुमानयोग्य बनाउन र लगानी बढाउन मद्दत पुग्ने उनीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया