समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बिहीबार पदबाट हटाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसका आधारमा प्रधानमन्त्रीले यस्तो निर्णय लिएका हुन्।
रास्वपा सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाउँदै कारबाहीका लागि सिफारिस गरेका थिए। साहले आफ्नी पत्नीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डमा सदस्यका रूपमा सक्रिय बनाएको विषय उठाइएको थियो। यसअघि रास्वपाको केन्द्रीय अनुशासन आयोगले पनि उक्त घटनाबारे अध्ययन गरी कारबाही गर्नुपर्ने सुझावसहितको प्रतिवेदन तयार पारेको थियो। सोही प्रतिवेदनका आधारमा पार्टीले मन्त्री साहको कदमले पार्टीको छवि र सिद्धान्तमा असर परेको निष्कर्ष निकालेको हो।
पार्टी विधानअनुसार पदको दुरुपयोग भएमा जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने व्यवस्था रहेको उल्लेख गर्दै रास्वपाले साहलाई तत्काल पदमुक्त गर्न सिफारिस गरेको थियो। त्यसैका आधारमा प्रधानमन्त्री शाहले उनलाई हटाउने निर्णय गरेका हुन्।








