Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापान सरकारले पुराना स्वास्थ्य बिमा कार्डको प्रयोग गर्न पाउने समयसीमा आगामी जुलाई अन्त्यसम्मका लागि थप गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्री केनिचिरो उएनोले बिहीबार एक पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन् । यसअघि मार्च महिनाको अन्त्यसम्म मात्र पुराना कार्ड प्रयोग गर्न पाउने समयसीमा तोकिएको थियो ।

जापानले आफ्नो स्वास्थ्य सेवा प्रणालीलाई पूर्ण रूपमा ‘डिजिटलाइज’ गर्ने उद्देश्यका साथ ‘माई नम्बर’ पहिचान पत्रलाई स्वास्थ्य बिमासँग एकीकृत गर्ने अभियान चलाइरहेको छ । नयाँ डिजिटल प्रणालीमा संक्रमण हुने प्रक्रिया सुस्त भएपछि सर्वसाधारणको सहजताका लागि सरकारले चार महिना समय थप गरेको हो ।

स्वास्थ्य मन्त्री उएनोका अनुसार अझै पनि ठूलो संख्यामा बिरामीहरू उपचारका लागि अस्पताल पुग्दा पुराना स्वास्थ्य बिमा कार्ड नै बोकेर आउने गरेका छन् । यो सङ्क्रमणकालीन अवस्थामा नागरिकलाई समस्या नपरोस् भन्नका लागि समय थपिएको उनले स्पष्ट पारे ।

जापान सरकारले डिसेम्बर २०२४ सम्म नयाँ स्वास्थ्य बिमा कार्डहरू जारी गरेको थियो भने डिसेम्बर २०२५ देखि परम्परागत कार्डहरूलाई अमान्य घोषणा गर्ने प्रक्रिया सुरु गरेको थियो । सरकारको नयाँ निर्णयअनुसार, बिरामीले जुलाई अन्त्यसम्म पुराना कार्ड वा आफ्नो स्वास्थ्य बिमामा आबद्ध रहेको प्रमाण पेश गरेमा पहिलेझैं कुल उपचार खर्चको १० देखि ३० प्रतिशत मात्र शुल्क तिरेर उपचार सेवा पाउनेछन् ।

तर, स्वास्थ्य मन्त्री उएनोले जुलाई पछि भने कुनै पनि हालतमा समय थप नगर्ने स्पष्ट पारेका छन् । ‘जुलाई अन्त्यपछिको समयसीमा पुनः बढ्ने छैन । हामी यो अवधिमा ‘माई नम्बर’ कार्डमा आधारित नयाँ डिजिटल प्रणालीको प्रवर्द्धनलाई थप तीव्रता दिनेछौं,’ उनले भने ।

कर, सामाजिक सुरक्षा र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा प्रयोग हुँदै आएको ‘माई नम्बर’ कार्डलाई स्वास्थ्य बिमासँग जोडेर जापानले आफ्नो प्रशासनिक कामलाई थप छिटो र पारदर्शी बनाउने लक्ष्य राखेको छ । यद्यपि, प्रविधिमा कम अभ्यस्त रहेका ज्येष्ठ नागरिक र कार्ड वितरणको सुस्तताका कारण नयाँ प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन सरकारलाई चुनौती भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया