Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – तीन दशकभन्दा बढी समय इरानको सर्वोच्च सत्ता सम्हाल्दै पश्चिमा जगत् र विशेषगरी अमेरिकासामु कहिल्यै नझुक्ने अयातोल्लाह अली खामेनी अन्ततः अमेरिका र इजरायलकै संयुक्त हमलामार्फत मारिएका छन् । इरानलाई मध्यपूर्वको एक शक्तिशाली राष्ट्रका रूपमा उभ्याउँदै ‘प्रतिरोधको धुरी’ निर्माण गरेका ८६ वर्षीय खामेनीको युगको नाटकीय र हिंसात्मक अन्त्य भएको हो ।

इरानको सरकारी टेलिभिजन र राष्ट्रिय सुरक्षा परिषद्ले शनिबारको हवाई आक्रमणमा खामेनीको निधन भएको औपचारिक पुष्टि गरेका हुन् । राजधानी तेहरानस्थित आफ्नै कार्यालय (लिडरसिप हाउस) मा काम गरिरहेका बेला उनीमाथि आक्रमण भएको थियो । इरानी सञ्चारमाध्यमका अनुसार उक्त भीषण आक्रमणमा खामेनीसहित उनकी छोरी, ज्वाइँ र नातिको पनि ज्यान गएको छ । उनको मृत्युपछि इरान सरकारले देशभर ४० दिने राष्ट्रिय शोक घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणलगत्तै खामेनीको मृत्यु भएको घोषणा गरेका थिए । ट्रम्पले इरानी नेताहरू अमेरिकी जासुसी संयन्त्र र अत्याधुनिक ट्र्याकिङ प्रणालीबाट उम्कन नसकेको दाबी गरे । फेब्रुअरी २८ मा नै इरानमा सत्ता परिवर्तन गर्ने उद्देश्यसहित ठूलो सैन्य कारबाही सुरु गरेको घोषणा गरेका ट्रम्पले इरानी नागरिकलाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईंहरूको स्वतन्त्रताको घडी आइसकेको छ, आफ्नो सरकार आफ्नो हातमा लिनुहोस् ।’युद्धले जन्माएको अविश्वास र उदय
सन् १९३९ मा इरानको मशादमा जन्मिएका खामेनीले सन् १९८९ मा इस्लामिक क्रान्तिका प्रणेता अयातोल्लाह रुहोल्लाह खोमेनीको निधनपछि सर्वोच्च नेताको जिम्मेवारी पाएका थिए । त्यसअघि सन् १९८० को दशकमा इराकविरुद्धको आठ वर्षे रक्तपातपूर्ण युद्धमा उनले राष्ट्रपतिको रूपमा देशको नेतृत्व गरेका थिए । त्यही युद्धले खामेनीको भूराजनीतिक दृष्टिकोण तय गरेको विश्लेषकहरू बताउँछन् ।

इराकका तत्कालीन शासक सद्दाम हुसेनलाई पश्चिमा राष्ट्रहरूले दिएको समर्थनका कारण खामेनीमा अमेरिका र पश्चिमप्रति गहिरो अविश्वास पैदा भएको थियो । इरान सधैं बाह्य खतरामा रहेको र यसको रक्षाका लागि देशबाहिरै ‘अग्रगामी रक्षा’ रणनीति अपनाउनुपर्ने उनको बुझाइ थियो । यसै नीतिका कारण उनले ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईआरजीसी) लाई शक्तिशाली सैन्य तथा आर्थिक संस्थाका रूपमा विकास गरेका थिए ।

खामेनीले इरानलाई सिमानाभित्र मात्र सीमित राखेनन् । मध्यपूर्वमा अमेरिकी र इजरायली प्रभाव रोक्न उनले लेबनानको हिजबुल्लाह, प्यालेस्टाइनको हमास, सिरियाका बसर अल-असद र यमनका हुथी विद्रोहीहरूलाई समेटेर ‘प्रतिरोधको धुरी’ खडा गरे । पश्चिमा प्रतिबन्धको सामना गर्न ‘प्रतिरोधको अर्थतन्त्र’ अघि सारेका उनी कहिलेकाहीँ व्यावहारिक पनि देखिन्थे । सन् २०१५ मा अमेरिकासहितका राष्ट्रहरूसँग गरिएको आणविक सम्झौता यसैको उदाहरण थियो । तर, सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौता तोडेपछि खामेनी फेरि उही पुरानै आक्रामक र सम्झौताहीन लयमा फर्किएका थिए ।बाह्य रूपमा जति शक्तिशाली देखिए पनि आन्तरिक रूपमा उनको शासनकाल विवादमुक्त रहेन । सन् २००९ को ‘ग्रीन मुभमेन्ट’, २०१९ को इन्धन आन्दोलन, २०२२ मा महसा अमिनीको मृत्युपछि भड्किएको महिला अधिकार आन्दोलन र हालै चर्किएको चरम आर्थिक संकटपछिका देशव्यापी विद्रोहहरूमा राज्यले निर्मम दमन गर्‍यो । युवा पुस्ताको चाहना बुझ्न नसक्ने र सधैं अमेरिका-इजरायलसँगको ‘छाया युद्ध’ मा मात्र रमाइरहने नेताका रूपमा आलोचकहरूले उनलाई लिने गर्दथे ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि इरानले निर्माण गरेको ‘प्रतिरोधको धुरी’ भत्किन सुरु भयो । गाजामा हमासको क्षयीकरण, लेबनानमा हिजबुल्लाहका शीर्ष नेताहरूको हत्या र सन् २०२४ को अन्त्यतिर सिरियामा असद सत्ताको पतनले इरानलाई एक्लाउँदै लग्यो । सन् २०२५ को मध्यतिर इजरायल र इरानबीच प्रत्यक्ष क्षेप्यास्त्र युद्धसमेत भएको थियो । आफ्ना सहयोगीहरू गुमाउँदै गएको अवस्थामा अन्ततः अमेरिका र इजरायलको निशानामा उनी आफैं परे ।अब के हुन्छ ?
खामेनीको मृत्युसँगै इरानको ८८ सदस्यीय ‘एसेम्बली अफ लिडरसिप एक्सपर्ट्स’ ले नयाँ सर्वोच्च नेता छान्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, देशमाथि निरन्तर आक्रमण भइरहेको सुरक्षा चुनौतीका कारण ती धर्मगुरुहरू तत्काल भेला हुन कठिन हुने बताइएको छ । नयाँ नेता चयन नहुन्जेलसम्मका लागि राष्ट्रपति, प्रधानन्यायाधीश र शक्तिशाली गार्जियन काउन्सिलका एक सदस्य सम्मिलित समितिले संयुक्त रूपमा सर्वोच्च नेताको जिम्मेवारी सम्हाल्ने इरानी संविधानमा व्यवस्था छ ।

तीन दशकयता मध्यपूर्वको राजनीतिलाई आफ्नो पकडमा राख्न सफल खामेनीको अन्त्यसँगै इरान र समग्र मध्यपूर्व अब कुन दिशामा अघि बढ्छ भन्नेमा विश्वको ध्यान तानिएको छ ।

तपाईको प्रतिक्रिया