काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दाबी गरेका छन् । यद्यपि, इरानले भने अमेरिकी दाबीलाई ‘मनोवैज्ञानिक युद्ध’ को संज्ञा दिँदै आफ्ना सर्वोच्च नेता पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ ।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत इरानको राजधानी तेहरानमा गरिएको कारबाहीमा खामेनीको ज्यान गएको दाबी गरेका हुन् । खामेनीको अन्त्यसँगै इरानी, अमेरिकी र विश्वभरका नागरिकले ‘न्याय’ पाएको ट्रम्पको टिप्पणी छ ।
यसअघि ‘एबीसी न्युज’लाई दिएको टेलिफोन अन्तर्वार्तामा पनि ट्रम्पले अमेरिकी कारबाहीबाट इरानमा ठूलो क्षति पुगेको र नेतृत्व तहका अधिकांश शीर्ष व्यक्तिहरू ‘हटीसकेको’ बताएका थिए । उनले इरानको आगामी नेतृत्वमा को-को आउन सक्छन् भन्नेबारे अमेरिकासँग स्पष्ट जानकारी रहेको दाबीसमेत गरेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि संयुक्त आक्रमणपछि खामेनी जीवित नरहेका संकेतहरू बढ्दै गएको बताएका थिए । पश्चिमा सञ्चारमाध्यमहरू रोयटर्स, फक्स न्युज लगायतले इजरायली उच्च अधिकारीलाई उद्धृत गर्दै ८६ वर्षीय खामेनी मारिएको समाचार सम्प्रेषण गरेका छन् । सार्वजनिक भएका पछिल्ला स्याटेलाइट तस्बिरहरूमा तेहरानस्थित खामेनीको निवास पूर्ण रूपमा ध्वस्त भएको देखिएको दाबी गरिएको छ ।
इरानको कडा खण्डन
पश्चिमा सञ्चारमाध्यम र अमेरिकी राष्ट्रपतिको दाबीलाई इरानले ठाडै अस्वीकार गरेको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी समाचार संस्था एनबीसीसँग कुरा गर्दै सर्वोच्च नेता खामेनी ‘पूर्ण रूपमा सुरक्षित र स्वस्थ’ रहेको बताएका छन् । त्यसैगरी, अलजजिरा न्युज च्यानलसँग कुरा गर्दै खामेनीको कार्यालयका जनसम्पर्क प्रमुखले खामेनी मारिएको भन्ने समाचार शत्रु राष्ट्रहरूले चलाएको ‘मनोवैज्ञानिक युद्ध’ मात्र भएको जिकिर गरेका छन् ।








