Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

वाशिङ्टन — अमेरिकाले इरानको अवैध तेल बिक्री, ब्यालेस्टिक मिसाइल तथा हतियार उत्पादन कार्यक्रमलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरू विस्तार गरेको छ । अमेरिकी कोष विभागले बुधबार ३० भन्दा बढी व्यक्ति, संस्था र तथाकथित “शेडो फ्लीट” जहाजहरूमा प्रतिबन्ध लगाएको जनाएको छ।

विभागअन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स र रक्षा मन्त्रालयसँग सम्बन्धित नेटवर्कहरूलाई पनि निशाना बनाएको छ । ती नेटवर्कहरूले ब्यालेस्टिक मिसाइल तथा अन्य हतियार उत्पादनका लागि आवश्यक कच्चा पदार्थ र मेसिनरी उपलब्ध गराउँदै आएको आरोप लगाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अर्थतन्त्रलाई दबाबमा पार्ने अभियान अघि बढाएका छन् । उनले मध्यपूर्वमा अमेरिकी सेना पनि तैनाथ गरेका छन् र यदि तेहरानले आफ्नो परमाणु कार्यक्रमसम्बन्धी लामो समयदेखिको विवाद समाधानका लागि सम्झौता नगरे आक्रमण हुन सक्ने चेतावनी दिएका छन् ।

मंगलबार राति कांग्रेससमक्ष दिएको स्टेट अफ द युनियन सम्बोधनमा ट्रम्पले सम्भावित सैन्य कारबाहीबारे आफ्नो धारणा संक्षेपमा प्रस्तुत गरेका थिए ।

इरानले भने आफ्नो परमाणु अनुसन्धान शान्तिपूर्ण ऊर्जा उत्पादनका लागि मात्र भएको दाबी गर्दै आएको छ । एक वरिष्ठ इरानी अधिकारीले आइतबार रोयटर्ससँग कुरा गर्दै तेहरान र वाशिङ्टनबीच कुन प्रतिबन्ध कहिले हटाउने भन्ने विषयमा अझै गम्भीर मतभेद रहेको बताएका छन् ।

नयाँ प्रतिबन्धबारे इरानले तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

विभागका अनुसार प्रतिबन्ध लगाइएका १२ वटा “शेडो फ्लीट” जहाज र तिनका सञ्चालकहरूले सयौँ मिलियन डलर बराबरको इरानी तेल तथा पेट्रोकेमिकल पदार्थ ढुवानी गरेका छन् ।

“शेडो फ्लीट” भन्नाले प्रतिबन्धित तेल ढुवानी गर्ने जहाजहरूलाई जनाइन्छ । यस्ता जहाजहरू प्रायः पुराना हुन्छन्, स्वामित्व स्पष्ट हुँदैन र अन्तर्राष्ट्रिय मापदण्डअनुसार आवश्यक बीमा पनि हुँदैन, जसका कारण ठूला तेल कम्पनी र धेरै बन्दरगाहहरूले स्वीकार गर्दैनन् ।

अमेरिकी कोष सचिव स्कट बेसन्टले विज्ञप्तिमार्फत भने, “इरानले अवैध तेल बिक्री गर्न, त्यसबाट आएको रकम लुकाउन, आफ्ना परमाणु र परम्परागत हतियार कार्यक्रमका लागि आवश्यक सामग्री जुटाउन तथा आतंकवादी समूहहरूलाई समर्थन गर्न अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको दुरुपयोग गरिरहेको छ ।”

तपाईको प्रतिक्रिया