
इरानले तेहरानको परमाणु कार्यक्रममाथिको विवाद समाधान गर्न अमेरिकासँग मुख्य “मार्गदर्शक सिद्धान्त”मा प्रारम्भिक समझदारी भएको जनाएको छ ।
जेनेभामा भएको अप्रत्यक्ष वार्तापछि इरानी विदेशमन्त्री अब्बास अराग्चीले अझै धेरै काम गर्न बाँकी रहेको बताए भने अमेरिकी पक्षले “प्रगति भएको” जनाएको छ । मध्यस्थकर्ता ओमानका विदेशमन्त्रीले वार्ता साझा लक्ष्य र सान्दर्भिक प्राविधिक मुद्दाहरू पहिचान गर्ने दिशामा सकारात्मक प्रगतिसहित सम्पन्न भएको बताएका छन्।
सरकारविरोधी प्रदर्शन र परमाणु गतिविधिमा इरानको कडा कारबाहीलाई लिएर भइरहेका अमेरिकी सैन्य चेतावनीबीच उक्त बैठक भएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसअघि नै इरान सम्झौतामा आउन चाहने विश्वास व्यक्त गरेका थिए ।
अमेरिका र उसका युरोपेली सहयोगीहरूले इरान परमाणु अस्त्र विकासतर्फ अघि बढिरहेको आशंका गर्दै आएका छन्, जसलाई तेहरानले निरन्तर अस्वीकार गर्दै आएको छ । स्विट्जरल्यान्डको जेनेभास्थित ओमानका राजदूतको निवासमा मङ्गलवार वार्ता भएको थियो । त्यसअघि इरानले आफ्नो परमाणु कार्यक्रम र अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धको सम्भावित फुकुवामा ध्यान केन्द्रित गर्ने जनाएको थियो ।
वाशिङ्टनले इरानको क्षेप्यास्त्र विकासजस्ता अन्य मुद्दाहरू पनि वार्तामा समावेश गर्न चाहेको संकेत गरिसकेको छ । जेनेभामा कुन–कुन विषयमा छलफल भयो भन्ने कुरा तत्काल सार्वजनिक गरिएको छैन ।
तर एक अमेरिकी अधिकारीले बीबीसीलाई भने, “प्रगति भएको छ तर अझै धेरै विषयमा छलफल गर्न बाँकी छ । इरानीहरूले हाम्रो अडानका केही खुला विषय सम्बोधन गर्दै अर्को दुई हप्तामा विस्तृत प्रस्ताव ल्याउने बताएका छन् ।”
फक्स न्यूजसँगको अन्तर्वार्तामा अमेरिकी उप–राष्ट्रपति जेडी भान्सले भने, “केही हिसाबले वार्ता राम्रो भयो र उनीहरू पुनः भेट्न सहमत भए । तर राष्ट्रपतिले तय गरेका केही ‘रेड लाइन’हरू इरानीहरूले अझै स्वीकार गर्न इच्छुक देखिँदैनन् ।”
वार्तालाई “निकै महत्त्वपूर्ण” भन्दै राष्ट्रपति ट्रम्पले आफू यसमा अप्रत्यक्ष रूपमा संलग्न रहेको र इरान यस पटक वार्तामा बढी इच्छुक देखिएको बताएका छन् । “मलाई लाग्दैन उनीहरू सम्झौता नगर्ने परिणाम चाहन्छन्,” उनले एअर फोर्स वनमा पत्रकारहरूलाई भने ।
ट्रम्पले गत गर्मीमा इरानी परमाणु स्थलहरूमा गरिएको अमेरिकी आक्रमणपछि इरानले कडा सन्देश बुझेको दाबी गर्दै भने, “हामी सम्झौता गर्न सक्थ्यौँ, तर बी–२ पठाउनु पर्यो । आशा छ अब उनीहरू व्यावहारिक हुनेछन् ।”
पछिल्ला हप्ताहरूमा मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति बढ्दै जाँदा तनाव पनि बढेको छ । बीबीसी भेरिफाइका अनुसार इरान नजिकै अमेरिकी विमानवाहक यूएसएस अब्राहम लिङ्कन रहेको पुष्टि भएको छ भने अर्को युद्धपोत यूएसएस जेराल्ड आर फोर्ड पनि केही साताभित्र त्यहाँ पुग्ने बताइएको छ ।
यसैबीच, इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईले अमेरिकी धम्कीको जवाफ दिँदै भने, “युद्धपोतभन्दा खतरनाक हतियार त्यस्तो हुन्छ जसले त्यसलाई समुद्रको पीँधमा पुर्याउन सक्छ ।” उनले अमेरिकाले वार्ताको नतिजा पहिले नै निर्धारण गर्न खोजेको आरोप लगाउँदै यस्तो कदम “गलत र मूर्खतापूर्ण” हुने बताएका छन् ।








