काठमाडौं – नेपाल प्रिमियर लिग सिजन २ मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई एकतर्फी हराएको छ । टस हार्दै पहिले ब्याटिङ गरेर लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णाली मात्र १२ दशमलव २ ओभरमै मात्र एक विकेटको क्षतिमा पूरा गर्दै पहिलो जित दर्ता गर्यो ।
कर्णालीका लागि ओपनर मार्क वाटले शतक प्रहार गरे । एनपीएल सिजन २ मा उनले हानेको शतक पहिलो हो । उनले मात्र ४१ बलमा १० छक्का र ६ चौका प्रहार गरी शतक प्रहार गरे । यस्तै उनी ४४ बलमा ११४ रनसहित अविजित रहे ।
यस्तै कर्णालीका लागि विल बोसिस्टोले २० बलमा २ चौका र एक छक्कासहित अविजित २९ रन बनाउँदा प्रियांक पांचालले १० बलमा एक चौका र एक छक्कासहित १२ रन बनाए ।
बलिङमा लुम्बिनी लायन्सका शेर मल्लले एक विकेट लिनुबाहेक अन्य कुनै पनि बलरले विकेट निकाल्न सकेनन् । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए । ४३ बलको सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे । यस्तै जे–जे स्मिथले १४ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाउँदा डार्शी शर्टले १३ बलमा चार चौकासहित १९ रन बनाए । रुबेन ट्रम्पलम्यानले ३ छक्का र एक चौकासहित २९ रन बनाउँदा शेर मल्ल ७ रनमा नटआउट रहे ।
कर्णालीका लागि नन्दन यादवले २ विकेट लिँदा, सोमपाल कामी, गुल्शन झा, मार्क वाट, विपीन शर्मा र युवराज खत्रीले एक/एक विकेट लिए ।








