काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले शीतल निवासमा शपथग्रहण गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकी छिन् । लामो समय स्वास्थ्य क्षेत्रमा बिताएकी अनुभवी डा. शर्माले आफ्नो कार्यकालमा भ्रष्टाचारमुक्त प्रशासन र नागरिकमैत्री सेवा प्रवाहलाई प्रमुख प्राथमिकतामा राख्ने घोषणा गरेकी हुन् ।
पदभार ग्रहण गर्दै मन्त्री शर्माले पहिलो निर्णयका रूपमा आन्दोलनबाट प्रभावित घाइते लगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन् । यो निर्णयले वर्तमान परिवेशमा मानसिक स्वास्थ्यको महत्त्वलाई उजागर गरेको छ ।
मन्त्रालयका कर्मचारीहरूसँगको छलफलमा मन्त्री शर्माले आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कडा निर्देशन दिएकी छिन् । उनले कुनै पनि स्तरमा भ्रष्टाचार भएको सुन्न नपरोस् भन्दै आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न चेतावनी दिइन् । ‘सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई दुःख दिने, काखापाखा गर्ने कार्य समेत भ्रष्टाचारकै अंगहरू हुन्,” उनले भनिन्, “हामीले त्यस्तो नहोस् भन्ने कुरामा ख्याल गर्नुपर्छ ।’
आफ्नो विगतको अनुभव स्मरण गर्दै डा. शर्माले भनिन्, ‘म सचिवको रूपमा यो मन्त्रालयमा काम गर्दा भ्रष्टाचारसँग कसरी जुध्ने भन्ने नै मेरो मुख्य चुनौती थियो । प्रशासनिक रूपमा जति गर्नुपर्थ्यो गरेँ। तर राजनीतिकस्तरको कुरालाई प्रशासनिक कुराले ह्यान्डल गर्न सक्दैन नि ! त्यसकारण मैले अलग हुनु नै ठिक ठानेर राजीनामा गरेँ ।’
उनले स्वास्थ्यका खरिद प्रक्रियालाई पूर्ण पारदर्शी बनाइ भ्रष्टाचार शून्य नीति अपनाउन निर्देशन दिएकी छिन् । करिब ३२ वर्ष ऊर्जाशील र क्रियाशील समय स्वास्थ्य क्षेत्रमा बिताएको ठाउँमा मन्त्रीका रूपमा आउन पाउँदा आफू हर्षित भएको उनले बताइन् । जनशक्तिको व्यवस्थापन र मानसिक स्वास्थ्यमा आफ्नो विशेष जोड रहने उनको भनाइ छ ।
आगामी योजनाहरू प्रस्तुत गर्दै मन्त्री शर्माले जनआन्दोलनमा शहीद भएका परिवारका सदस्यका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना रहेको सुनाइन् । यसका लागि अर्थ मन्त्रालयसँग समन्वय गरिने उनले स्पष्ट पारिन् । आन्दोलनका घाइतेहरूलाई उपचारमा निरन्तरता दिने र चोटपटकको आधारमा वर्गीकरण गरी सोही अनुसार सेवा उपलब्ध गराउने कुरालाई पनि उनले प्राथमिकतामा राखेकी छिन् ।








