समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको महत्वपूर्ण पक्ष नेतृत्व हस्तान्तरण भएको बताउँदै अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको १०औं केन्द्रीय कमिटी बैठकमा ‘आजको संकट र पार्टी पुनर्गठन’ विषयमा धारणा राख्दै भट्टराईले भने, “पार्टी पुनर्गठनको मुख्य आयाम नेतृत्वको हस्तान्तरण हो।”
उनका अनुसार, विधान महाधिवेशनमार्फत अध्यक्ष ओलीलाई पुनः अध्यक्ष बनाउने मनोवैज्ञानिक सन्देश प्रवाह भए पनि मुलुकको असाधारण अवस्था र जनअपेक्षालाई ध्यानमा राखी अब त्यसमा पुनर्विचार गर्नुपर्ने समय आएको छ। भट्टराईले भने, “वर्तमान अध्यक्ष कमरेडले सहजतापूर्वक नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सार्नु उपयुक्त हुन्छ।” भट्टराईले दुई विकल्प प्रस्तुत गरेका छन्। पहिलो, पार्टीका वरिष्ठ नेतालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर आगामी महाधिवेशनमा सहमति वा प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयन गर्ने।
दोस्रो विकल्पका रूपमा, अध्यक्ष ओलीकै नेतृत्वमा महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने। उनले भने, “अध्यक्ष कमरेडले महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरणको घोषणा गर्न सक्नुहुन्छ। कुन विकल्प रोज्ने भन्ने निर्णय अध्यक्ष कमरेडकै अन्तरआत्मामा छ।”








