समाचार सुन्नुहोस :
काठमाडौँ – आज राति ११:५९ बजेदेखि नागरिक एपमार्फत मतदाता नामावली दर्ताका लागि प्रि–इनरोलमेन्ट सेवा सुरु हुने भएको छ। डिजिटल माध्यमबाट मतदाता दर्ता प्रक्रिया सजिलो बनाउने उद्देश्यले नागरिक एपमा यो सेवा सुरु गर्न लागिएको हो। यस सेवामार्फत नागरिकले आफूलाई पायक पर्ने जिल्ला निर्वाचन कार्यालय छानेर अनलाइन प्रि–इनरोलमेन्ट फारम भर्न सक्ने नागरिक एपले जनाएको छ।
पहिले नै मतदाता नामावलीमा दर्ता गरिसकेकाले पुनः दर्ता गर्नु नपर्ने एपले स्पष्ट पारेको छ। यो सुविधा प्रयोग गर्नका लागि नागरिक एपको नयाँ संस्करण (v2.0.84) अपडेट गर्नुपर्नेछ। निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलनको काम जारी राखेको छ। यसै प्रयोजनका लागि आयोगले आफ्नो वेबसाइटबाट पनि प्रि–इनरोलमेन्ट सेवा सुरु गरिसकेको छ।
अनलाइन आवेदन भरेपछि आवेदकले फोटो खिचाउने र बायोमेट्रिक विवरण दिने मिति र स्थानबारे जानकारी लिएर तोकिएको समयमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्नेछ।








