समाचार सुन्नुहोस :
काठमाडौँ – ‘जेनजी’ भन्दै विभिन्न सरकारी कार्यालयमा पुगेर धम्क्याउने अर्जुनबहादुर शाहीसँग प्रहरीको परिचयपत्र फेला परेको छ। प्रहरी स्रोतका अनुसार, शाहीसँग असई (प्रहरी सहायक निरीक्षक) कुमार शर्मा नामको परिचयपत्र भेटिएको हो। शर्मा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् र इन्स्पेक्टर तालिममा जान तयारीमा रहेका छन्। उनले आफ्नो परिचयपत्र हराएको बताएका छन्।
प्रहरीले बुधबार शाहीलाई कोटेश्वरबाट पक्राउ गरेको हो। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत कार्यालयहरूमा पुगेर अनुगमन र ज्ञापनपत्रको नाममा धम्की दिने काम गर्दै आएका थिए। केही दिनअघि उनले नागरिक उड्डयन प्राधिकरणमा पुगेर महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग समेत गरेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, शाहीको आफ्नै परिवारसँग राम्रो सम्बन्ध छैन। उनी कक्षा ८ मा पढ्ने समयमा साविक कालिका गाविस–९ का तुला बहादुर शाहीको घरबाट तीन वटा बाख्रा चोरी भएको घटनामा पनि संलग्न रहेको खुलेको छ। तीमध्ये एक जनालाई पक्राउ गरिएको थियो भने अर्जुन त्यसपछि गाउँबाट फरार भएका थिए।








