टोकियो – जापानको नागानो प्रिफेक्चरमा सन् २०२३ मा दुई छिमेकी र दुई प्रहरी अधिकारीको हत्या गरेको आरोपमा एक ३४ वर्षीय पुरुषलाई त्यहाँको एक अदालतले मंगलबार मृत्युदण्डको सजाय सुनाएको छ । नागानो जिल्ला अदालतले किसान मासानोरी आओकीलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
आओकीका वकिलले आक्रमणका बेला आओकीको मानसिक अवस्था कमजोर रहेको र सिजोफ्रेनियाको विकास भइरहेको भन्दै आजीवन कारावासको सजाय माग गरेका थिए। तर, अदालतले उक्त तर्कलाई खारेज गरिदिएको छ । सरकारी वकिलहरूले आओकीले सही र गलत छुट्याउन सक्ने तथा आफूले अपराध गरिरहेको कुराको हेक्का राख्दै छिमेकीहरूले आफ्नो कुरा काटेको विश्वासमा उनीहरूमाथि आक्रमण गरेको भन्दै मृत्युदण्डको माग गरेका थिए ।
अभियोगअनुसार, २०२३ मे २५ को साँझ आओकीले नाकानो शहरमा घुम्न निस्किएका यासुको ताकेउची (७०) र युकी मुराकामी (६६) लाई छुरा प्रहार गरी हत्या गरेका थिए। त्यसपछि घटनास्थलमा आपत्कालीन कलपछि पुगेका प्रहरी अधिकारी ताकुओ इकेउची (६१) र योशिकी तामाई (४६) लाई उनले शिकार खेल्ने राइफलले गोली हानी हत्या गरेका थिए ।
यस घटनापछि हतियार तथा तरवार नियन्त्रण कानुनमा संशोधन गरी आओकीले प्रयोग गरेको ‘हाफ राइफल’ जस्ता हतियारहरू, जसको आधा नालमा राइफलिङ हुन्छ, को नियमनलाई कडा पारिएको छ ।








