समाचार सुन्नुहोस :
काठमाडौँ – आइतबार नेपाल प्रहरीले तेन्जिङ दावालाई नियन्त्रणमा लिएको छ। उनी ‘टिओबी’ लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार दावाको विषयमा अहिले ‘स्क्रिनिङ’ भइरहेको छ। उनको साथबाट पेस्तोल फेला परेको वा नपरेकोबारे भने अहिलेसम्म यकिन हुन बाँकी छ।
प्रहरीका अनुसार दावाले लगाएको ‘टिओबी’ टिसर्ट र हतियारबारे छुट्टै रूपमा जाँच भइरहेको छ। केही दिनयता सामाजिक सञ्जालमा ‘टिओबी’ लेखिएको टिसर्ट वा ज्याकेट लगाएका युवाहरूका भिडिओहरू चर्चामा आएका छन्। ती भिडिओ गत भदौ २३ र २४ गते भएको आन्दोलनका हुन्, जहाँ कालो ज्याकेट र झन्डामा ‘टिओबी’ लेखिएका युवाहरू मोटरसाइकलमा लश्कर लगाइरहेको देखिन्छ।
भिडिओमा देखिएका व्यक्तिमध्ये एकले भिडलाई सम्बोधन गरिरहेका छन्, जसलाई प्रहरीले अहिले पक्राउ गरेको तेन्जिङ दावा भएको जनाएको छ। ‘टिओबी’ भन्ने शब्द फ्री–तिब्बत अभियानसँग जोडिएको ‘टिबेटियन ओरिजिनल ब्लड’ नामक समूहसँग सम्बन्धित रहेको बताइन्छ। दावाको नाममा रहेको फेसबुक खातामा पनि यही लेखिएको तस्बिर देखिन्छ। तर, ‘टिओबी’ नामको अर्को सामाजिक सञ्जाल खातामा भने यसको अर्थ ‘द ओरिजिनल ब्रदर्स’ लेखिएको छ, जसलाई बाइकर समूह भनेर उल्लेख गरिएको छ। समूहका केही सदस्यहरूले ‘टिबेटियन’ शब्द भोट समुदायसँग सम्बन्धित भएको स्पष्टिकरण दिएका छन्।
मिडियासँग कुरा गर्दै ‘टिओबी’ समूहका एक सदस्यले सो भाइरल भिडिओ गत अप्रिलको भएको दाबी गर्दै त्यसमा प्रयोग गरिएको बन्दुक नक्कली रहेको बताएका छन्। प्रहरीले भने दावासँगै उक्त भिडिओ र समूहबारे थप अनुसन्धान भइरहेको जनाएको छ।








