टोकियो – अप्रिलमा सुरु भएको ओसाका वर्ल्ड एक्स्पो-२०२५, छ महिनाको भव्य प्रदर्शनपछि समापनको संघारमा पुगेको छ । सोमबार औपचारिक रूपमा बन्द हुनु दुई दिनअघि शनिबार एक्स्पो स्थलमा जनसागर उर्लिएको थियो ।
१५८ देश तथा क्षेत्रहरूको सहभागिता रहेको यस एक्स्पोले हालका हप्ताहरूमा दैनिक २ लाखभन्दा बढी आगन्तुकहरूलाई स्वागत गरिरहेको छ । शनिबार, तीन दिने बिदाको पहिलो दिन, एक्स्पोका लगभग सबै प्रवेश स्लटहरू भरिएका थिए । बिहानैदेखि विभिन्न प्याभिलियनहरू अगाडि लामो लाइनहरू लागेका थिए ।
विशेष गरी, इन्डोनेसियाली प्याभिलियनमा कर्मचारीहरूले संगीतको तालमा निर्देशनहरू दिँदै आगन्तुकहरूको लामो प्रतीक्षालाई कम गर्ने प्रयास गरिरहेका थिए । एक कर्मचारीले संगीत र नृत्य प्रस्तुतिले आगन्तुकहरूलाई अविस्मरणीय स्मृति दिने आशा व्यक्त गरे ।
ओसाका प्रान्तकी ५० वर्षीय एक महिलाले प्रस्तुतिको कारण प्रतीक्षा समय छिटो बितेको महसुस भएको बताइन् । उनले एक्स्पोलाई धेरै मिस गर्ने र अन्तिम क्षणसम्म यसको आनन्द लिने दृढता व्यक्त गरिन् ।
सोमबार हुने समापन समारोहमा साउदी अरेबियालाई झण्डा हस्तान्तरण गरिनेछ, जसले सन् २०३० मा रियादमा अर्को एक्स्पो आयोजना गर्नेछ ।








