टोकियो – जापानको कोमेइटो पार्टीले सत्तारुढ गठबन्धन छाड्ने घोषणा गरेको छ । यससँगै लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) सँगको २५ वर्षभन्दा लामो सहकार्य टुंगिएको छ ।
कोमेइटोका प्रमुख प्रतिनिधि साइतो तेत्सुओले शुक्रबार दिउँसो एलडीपीकी नवनिर्वाचित अध्यक्ष ताकाइची सानाएसँग भेटवार्ता गरेका थिए । भेटमा साइतोले राजनीतिक आर्थिक मामिलामा एलडीपीले पर्याप्त जवाफ दिन नसकेको बताए । कोमेइटोले कर्पोरेट र संगठनात्मक चन्दाका स्रोतहरूलाई प्रतिबन्ध लगाउने प्रस्ताव पारित गर्न एलडीपीलाई आग्रह गर्दै आएको छ ।
साइतोले भने, ‘राजनीतिक आर्थिक मामिलाको समाधान कोमेइटोको मुख्य प्राथमिकता हो । लिबरल डेमोक्रेटिक पार्टी र कोमेइटोबीचको गठबन्धन सरकारको सम्बन्धलाई हामी अहिलेका लागि अन्त्य गर्न चाहन्छौँ ।’
गत हप्ता पार्टी अध्यक्षमा निर्वाचित भएपछि ताकाइचीले कोमेइटोसँगको गठबन्धन कायम राख्नु आवश्यक रहेको बताएकी थिइन् । सन् १९९९ मा एलडीपीले माथिल्लो सदनमा बहुमत गुमाएपछि कोमेइटो एलडीपी नेतृत्वको गठबन्धन सरकारमा सामेल भएको थियो ।
केही हप्ताभित्रै डाइट (जापानको संसद) को अधिवेशन बस्ने अपेक्षा गरिएको छ । ताकाइची प्रधानमन्त्री बन्ने आशामा छिन् । तर साइतोले आफ्ना मागमा एलडीपीबाट स्पष्ट र ठोस सहयोग नपाएसम्म कोमेइटोका सांसदहरूले उनलाई भोट नदिने बताएका छन् ।








