समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा सर्वदलीय बैठक राष्ट्रपति भवन शीतल निवासमा सुरु भएको छ। बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि उपस्थित छिन्। जेनजी आन्दोलनपछि प्रधानमन्त्री कार्कीको नेतृत्वमा बनेको सरकार गठन भएपछिको यो पहिलो सर्वदलीय बैठक हो। बैठकमा आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनबारे मुख्य छलफल भइरहेको छ।
चुनाव मिति घोषणा भए पनि सरकारसँग संवाद नहुँदा असन्तुष्टि व्यक्त गर्दै आएका राजनीतिक दलहरू बैठकमा सहभागी भएका छन्।बैठकमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन्।
त्यस्तै, रास्वपाबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राप्रपाबाट ज्ञानेन्द्र शाही र बिना लामा, एकीकृत समाजवादीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायत उपस्थित छन्।
सरकारतर्फबाट प्रधानमन्त्रीसँगै मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ, ओमप्रकाश आर्याल र जगदीश खरेल पनि सहभागी भएका छन्।








