टोकियो – जापानको चिबा प्रिफेक्चरस्थित फुनाबासी सहरमा बस्दै आएका एक नेपाली युवकको गत आइतबार बिहान रहष्यमय निधन भएको छ । म्याग्दी घर भई पोखरा बसोबास गर्दै आएका करिब २२ वर्षिय बादल छन्त्यालको निधन भएको हो ।
निकटतम स्रोतका अनुसार छन्त्यालले करिब ३० वर्ष उमेर समुहकी जापानी युवतीसंग नजिकैको एक होटलमा शनिबारको रात बिताएका थिए ।
प्रहरीले दिएको जानकारीअनुसार आइतबार बिहान करिब ३ बजेसम्म छन्त्याल आफ्ना साथीहरुसँग सम्पर्कमा थिए । तर, सोही दिन बेलुका करिब ५ बजेतिर मात्र उनका दाजु तेजेन छन्त्यालले भाइको मृत्युको खबर पाएका थिए । मृतक छन्त्यालका प्रेमिका भनिएका जापानी युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।
छन्त्यालको मृत्यूको कारण हत्या हुन सक्ने सर्बत्र आशंका गरिएको भएता पनि आधिकारिक स्रोतले अहिलेसम्म केही नबताएको अवस्थामा हत्या नै भनि ठोकुवा गरी सर्बत्र समाचार आईरहेकोप्रति यहाँका प्रवुद्ध नेपालीहरुले चिन्ता र चासो व्यक्त गरिरहेका छन् ।
बुधबार उनको पोष्टमार्टम गरिने भएको छ । परिवारको माग अनुसार मृतक छन्त्यालको शव नेपाल पठाईने तैयारी भईरहेको बुझिएको छ । शव नेपाल पठाउन ठूलो धनराशी खर्च हुने भएकोले परिवारको अनुरोधलाई मनन् गर्दै म्याग्देलीहरुको संस्था मोना जापानले आर्थिक सहयोग उठाउन सुरु गरिसकेको मोना जापानका अध्यक्ष गणेश श्रेष्ठले बताए ।***







