टोकियो – जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) यतिबेला आफ्नो इतिहासकै सबैभन्दा कठिन घडीमा उभिएको छ । प्रधानमन्त्री शिगेरु इशिबाले ७ सेप्टेम्बर २०२५ मा पदबाट राजीनामा दिएपछि ४ अक्टोबरमा हुने पार्टी अध्यक्ष पदको चुनावले जापानको भावी राजनीतिक दिशा तय गर्नेछ । दशकौंसम्म जापानमा निर्विवाद शासन गरेको एलडीपीले अहिले आफ्नो अस्तित्व र प्रभाव जोगाउन संघर्ष गरिरहेको छ ।
इबाराकी प्रान्तका छैटौँ पुस्ताका धान किसान ७४ वर्षीय हरुओ त्सुकामोटो, एलडीपीका करिब १० लाख सामान्य सदस्यमध्ये एक हुन् । उनलाई अब कसलाई जापानको नयाँ प्रधानमन्त्री बनाउन भोट हाल्ने भन्नेबारे गहिरो द्विविधा छ । जीवनभर समर्थन गरेको पार्टीले अझै पनि आफू जस्ता किसानहरूको पक्षमा वकालत गर्छ कि गर्दैन भन्नेमा उनी सशंकित छन् । विगतमा पार्टीसँग ५० लाखभन्दा बढी सदस्य र ग्रामीण क्षेत्रमा बलियो समर्थन रहेको कुरा स्मरण गर्दै त्सुकामोटो भन्छन्, ‘एलडीपीको सदस्य हुनु अहिले खासै फाइदाजनक छैन ।’
यो मनोविज्ञानले जापानमा कसरी पुराना पार्टीहरूले आफ्ना परम्परागत मतदाता गुमाउँदैछन् भन्ने कुराको स्पष्ट संकेत दिन्छ । बढ्दो जीवनयापन खर्च, पार्टी कोष घोटाला, युवाहरूको सहर पलायन, र पपुलिस्ट तथा अति-दक्षिणपन्थी पार्टीहरूको उदय जस्ता कारणहरूले एलडीपीको आधारलाई कमजोर बनाएको छ । इबाराकी राजधानी मितो नगरसभाका एलडीपी सदस्य ५८ वर्षीय हिरोकात्सु सुदा भन्छन्, ‘हामी अब ब्लक-भोटमा भर पर्न सक्दैनौं । ३० वर्षभन्दा बढी समयदेखि एलडीपी सदस्य भए पनि मैले अहिले जस्तो कठिन परिस्थिति कहिल्यै देखेको छैन ।’
दक्षिणपन्थी रुझान र युवा मतदाता
एलडीपीको संकट इबाराकीमा मात्र सीमित छैन, यो राष्ट्रव्यापी मतदाता मनोविज्ञानको प्रतिनिधित्व गर्छ । सुदाले मतदातालाई पार्टी समर्थन गर्न आग्रह गर्दा उनीहरूले नयाँ दक्षिणपन्थी पार्टी, सान्सेइतोलाई रोजेको बताए । पछिल्लो पाँच वर्षमा चार जना प्रधानमन्त्री फेरिएसँगै जापान राजनीतिक अस्थिरताले ग्रस्त छ ।
सीएनएनको एक रिपोर्टअनुसार, केही युवा अति-दक्षिणपन्थी पार्टीहरूले यही राजनीतिक विकृतिको फाइदा उठाइरहेका छन् । सान्सेइतो, जसले डोनाल्ड ट्रम्पको शैलीमा ‘जापानीज पहिलो’ (Japanese first) नारा दिएर जुलाईको संसदीय चुनावमा ठूलो सफलता हासिल गर्यो, माथिल्लो सदनमा १४ सिट जितेको छ । युट्युब च्यानलमा आधा मिलियनभन्दा बढी सब्सक्राइबर रहेको यो पार्टीको सफलताले जापानको ‘डिजिटलकृत समाज’ मा भएको परिवर्तन र परम्परागत पार्टीहरूको मतदातासँगको विच्छेदलाई संकेत गर्छ ।
पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यापछि पार्टी समर्थन घट्दै गएको सांसद नाओको ताकाहाशी बताउँछिन् । जोसो नगरमा १० प्रतिशत विदेशी आप्रवासी रहेको सन्दर्भमा आप्रवासी विरोधी नाराहरूले प्राथमिकता पाइरहेका छन्, जसले दक्षिणपन्थी शक्तिहरूलाई थप मलिलो राजनीतिक जमिन प्रदान गरेको छ ।
प्रधानमन्त्री पदका लागि प्रतिस्पर्धा
जापानमा बहुमत प्राप्त पार्टीको अध्यक्ष नै प्रधानमन्त्री बन्ने अभ्यास छ । यसकारण, एलडीपी अध्यक्ष चुनावमा जो विजयी हुन्छ, उसलाई संसदमा मतदानपछि प्रधानमन्त्री बनाइनेछ । यो दौडमा पाँच उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा दुई जनाबीच देखिएको छ- पूर्व आर्थिक सुरक्षा मन्त्री साना ताकाइची र कृषि मन्त्री शिन्जिरो कोइजुमी । क्योदो न्युजको सर्वेअनुसार, ताकाइची ३४.४ प्रतिशत मत समर्थनसहित अगाडि छिन् भने कोइजुमीलाई २९.३ प्रतिशत समर्थन छ ।
यदि ताकाइची विजयी भइन् भने उनी जापानकी पहिलो महिला प्रधानमन्त्री बन्नेछिन् । उनी शिन्जो आबेकी निकट नेतृ, संविधान संशोधन र राष्ट्रिय सुरक्षामा मुखर दक्षिणपन्थी कन्जर्भेटिभ हुन् । अर्कोतर्फ, जुनिचिरो कोइजुमीका छोरा शिन्जिरो कोइजुमी ४५ वर्षमै प्रधानमन्त्री बने जापानका सबैभन्दा कान्छा प्रधानमन्त्री हुनेछन् । उनी युवा, मिडियामैत्री, समलैङ्गिक विवाह र लैङ्गिक समानतामा उदार छन् ।
अन्य प्रतिस्पर्धीहरूमा वर्तमान सरकारका प्रवक्ता योशिमासा हयाशी, पूर्व विदेश मन्त्री तोशिमित्सु मोटेगी र वित्त मन्त्रालयको अनुभव भएका ताकायुकी कोबायाशी छन् ।
एलडीपीको नयाँ नेतालाई संसदमा प्रधानमन्त्रीका लागि सिफारिस गरिए पनि बलियो सरकार बनाउन भने कठिन हुनेछ । पार्टीले दुवै सदनमा बहुमत गुमाइसकेकाले अल्पमतको सरकार बन्नेछ । साथै, विपक्षीहरूले साझा उम्मेदवार चयन गर्न सकेको खण्डमा एलडीपीका नवनिर्वाचित नेता प्रधानमन्त्री बनिहाल्छन् भन्ने पनि निश्चित छैन ।
शिगेरु इशिबाको राजीनामा र एलडीपीको कमजोरी
सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री बनेका शिगेरु इशिबाले ७ सेप्टेम्बर २०२५ मा राजीनामा दिए । पार्टीभित्र ‘आउटसाइडर’ मानिने इशिबाले महँगी र आर्थिक समस्या समाधान गर्ने वाचा गरे पनि चुनावी पराजयले उनलाई कमजोर बनायो । अक्टोबर २०२४ को तल्लो सदन चुनाव र जुलाई २०२५ को माथिल्लो सदन चुनावमा एलडीपी-कोमेइतो गठबन्धन पराजित भएपछि पार्टीले १९५५ पछि पहिलोपटक दुवै सदनमा बहुमत गुमायो ।
लगातारको पराजयपछि पार्टीभित्रैबाट इशिबामाथि राजीनामाको दबाब आयो । उनलाई ‘अत्यधिक उदार’ भएको आरोप लाग्यो, जबकि पार्टीलाई कन्जर्भेटिभ नेता चाहिएको थियो । उनले ‘म पार्टीमा फुट ल्याउन चाहन्नँ । अब नयाँ पुस्तालाई मौका दिन्छु’ भन्दै राजीनामा दिए ।
शिन्जो आबेको निधनपछि एलडीपीको कमजोरी झनै प्रस्ट भएको छ । सन् २०२३-२४ को फन्डिङ स्क्यान्डल, जहाँ पार्टीका गुटहरूले करोडौँ येन गोप्य खातामा राखेका थिए, र युनिफिकेशन चर्च विवादले पार्टीको छवि धमिलियो । आबेनोमिक्सले अर्थतन्त्रलाई बलियो बनाए पनि उनको स्वास्थ्य समस्याका कारण २०२० मा राजीनामा र २०२२ मा हत्याले पार्टीलाई ठूलो धक्का दियो ।
अहिले एलडीपी पहिलो पटक अल्पमतको सरकार चलाइरहेको छ र विपक्षी शक्तिहरू बलियो हुँदै गएका छन् । युवा मतदाताहरू ‘जापान फर्स्ट’ र ‘आप्रवासन विरोधी’ नारा दिने दक्षिणपन्थी पार्टीहरूतर्फ आकर्षित भएका छन् । यो राजनीतिक भूमरीले जापानको भावी राजनीतिलाई कुन दिशामा लैजान्छ, त्यो हेर्न बाँकी नै छ ।








