अहिले देश दुखेको बेला छ । ठीक यसै बेला नेपालीहरुको महान पर्व बडा दशैं आएको छ । घरदेशदेखि परदेशका नेपाली बस्तीहरुसम्म दशैंको रौनकता छाउनुपर्ने हो तर यो वर्षको दशैंले नेपालीहरुमा उमंग छर्न सकेको छैन । सोही कारण यो वर्षको दशैंमा परदेशबाट घरदेश जान ठिक्क परेका कतिपय नेपालीहरुले आफ्नो स्वदेशयात्रा स्थगन गर्नुपरेको छ ।
दशैंको पूर्वसन्ध्यामा मुलुकमा भएको अप्रत्याशित र अकल्पनीय दुखद घटनाका कारण नेपालीहरुका लागि यो वर्षको दशैं अपेक्षित सुखद नबन्ने भएको हो । आन्दोलनका क्रममा ज्यान गुमाउनेहरु प्रति उच्च सम्मान सहित हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु । परिवारजनमा गहिरो समवेदना छ । साथै घाइते, अपाङ्गहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु ।
पछिल्ला घटनाक्रममा भएका अपूरणीय क्षतीका रहष्यमय नालीबेली बिस्तारै बाहिर आउलान् नै तर यी सबै भयावह र कहालिलाग्दा घटना किन र के का लागि भएका वा गरिएका थिए भन्ने बारेमा सूदूर गाउँटोलका चिया चौतारादेखि देशविदेशसम्मका डबलीहरुमा विचार विश्लेषण गर्नेहरुबीच राष्ट्रिय चिन्तनको विषय बनेको छ । अर्कोतिर मुलुकमा उत्पन्न विषम परिस्थितिको सुरक्षित अवतरणका संभावनाका बारेमा पनि चिन्ता र चासो चौतर्फी बढेको छ । अब मुलुकमा के हुन्छ, नेपाली जनताका सविधान प्रदत्त मौलिक अधिकार कुण्ठित हुने पो हुन कि ? वा लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यताहरुमाथि अंकुश पो लगाईने हो कि भन्ने एकखालको आशंका पनि उब्जाएको छ भने अर्कोतिर आगामी फागुन २१ का लागि तय गरिएको निर्वाचनबाटै सबैखाले समस्याहरुका हल खोज्न सकिने झिनो आशा गर्ने ठाउँ पनि नभएको होइन । यद्यपि चुनौतीहरुको चाङमा उभिएको वर्तमान गैरदलीय सरकारबाट अरु धेरै अपेक्षा गर्न नसकिएता पनि निर्धारित समयमै निर्वाधरुपले निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई राज्य सञ्चालनको बागडोर सुम्पने कार्यभार पूरा गर्ने सफलता मिलोस् भन्ने अग्रिम शुभकामना छ ।
जेन्जी पुस्ताको विद्रोहको जगमा बनेको वर्तमान सरकारसामु पर्याप्त समय नभएकोले अरु धेरै क्षेत्रमा हात हाल्नुभन्दा मुलुकको विशेष परिस्थितिमा आफुले पाएको म्याण्डेटलाई उच्च प्राथमिकतामा राखेर नेपालीहरुको मनोवल बढाउने खालका देखिनेगरी काम गर्नुपर्ने अहिलेको आवश्यकता हो । मुलुकलाई निकास दिनका लागि ऐतिहासिक जिम्मेवारी पाएको महत्वपूर्ण समयमा लोकरिझ्यांईका लागि झिनामसिना विषयमा नअल्झिन पनि वर्तमान सरकार सचेत हुनैपर्दछ ।
आफ्नो जीवनलाई हत्केलामा राखेर परिवर्तनका खाँतिर देशैभरिबाट आन्दोलनमा होमिएका जेन्जी पुस्ताको मात्र दुईदिनको विद्रोहले दुईतिहाईको दम्भ पालेर इतिहासमै सबैभन्दा अलोकप्रिय साबित हुँदै आएको सत्ता किनाराकृत भएको छ । संसारमै नभएको अभ्यास अनुसरण गर्दै संसदका दुई ठूला दल मिलेर शक्तिशाली सरकार बनाउनुको भित्री मक्सद नेपाली जनताले यतिबेला अझ राम्रोसंग बुझ्ने मौका पाएका छन् । झण्डै आधा शताब्दी लामो संसदीय अभ्यास गरेका पुराना र पाका भनिएका दलहरु रातारात सत्ताबाट सडकमा मिल्काईएको यो हदसम्मको घटना चानचुने हुँदैहोईन, तर यसलाई अति सामान्यीकरण गरिने प्रयास भईरहेका छन् । ती खलपात्रहरुले आफुबाट भएका गल्ती, कमी-कमजोरीहरुको महशुस गर्दै नेपाली जनतासामु आत्मालोचना गर्नुको साटो उल्टै आफुहरुबाट केहि गल्ती नै भएको छैन झैं गरी दूलोभित्रबाट हुँकार गरिरहेका छन् । यो अर्को उदेकलाग्दो कुरो हो । उनीहरुबाट आएका पछिल्ला अभिव्यक्तिहरु हेर्दा अझै पनि दलहरु सुध्रिने छाँटछन्द देखिदैंन । उनीहरुमा दम्भ र प्रतिशोधपूर्ण धङधङी अझै देखिन्छ । यसले नेपाली राजनीतिको अगाडिको कोर्स त्यति सहज र सरल नहुने संकेत गर्दछ । फेरिएको समयमा नफेरिएको मानसिकताले फेरि पनि निम्त्याउने भनेको अर्को विद्रोह नै हो, जेन्जी पुस्ताबाट उठान भएको विद्रोह बैठान भईसकेको छैन, बिसाएको मात्र हो । त्यसो भएको हुनाले यो उच्च संवेदनशील समयमा अति संयमित ढंगले जिम्मेवार बन्दै सच्चिन र सुध्रिनका लागि सरोकारवलाहरु सबैमा सद्बुद्धि पलाओस् भन्ने विजया दशमी – २०८२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।***







