Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो – जापानमा रहेका मगर समुदायको साझा संस्था नेपाल मगर संघ जापानको २२औँ केन्द्रीय महाधिवेशन आगामी अक्टोबर ११ तारिख शनिबारका दिन हुने भएको छ । संघले आफ्नो २१औँ कार्यसमितिको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेर नयाँ नेतृत्व चयन गर्न टोकियोको ईकेबुकुरोस्थित तोशिमा वार्ड प्रदर्शन कला केन्द्रको सभाहलमा महाधिवेशनको आयोजना गर्न लागेको हो ।

सन् १९९५ मा स्थापना भएको नेपाल मगर संघ जापानले करिब तीन दशक लामो आफ्नो यात्रामा विभिन्न संघसंस्थाहरूसँग सहकार्य र समन्वय गर्दै आएको छ । यस अवधिमा अनेकौँ अप्ठ्यारा परिस्थितिको सामना गर्दै संघले जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र संवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको नेपाल मगर संघ जापानका केन्द्रीय महासचिव भिक्टर ठाडा मगरले बताए ।

जापानभर आफ्नो सञ्जाल विस्तार गर्दै नेपाल मगर संघले हालसम्म ६ वटा क्षेत्रीय समिति गठन गरिसकेको छ । सेन्दाईमा पनि छिट्टै क्षेत्रीय समिति विस्तार गर्ने तयारी भइरहेको संघले जनाएको छ । हालै सम्पन्न क्षेत्रीय अधिवेशनहरूबाट गुम्मा केनको अध्यक्षमा बालकृष्ण पुर्जा मगर, सिजुओका केनको अध्यक्षमा शोभा पुर्जा मगर र तोकाई (नागोया) को अध्यक्ष पदमा रोशन थापा मगर चयन भएका छन् । त्यसैगरी, कान्साई (ओसाका) को अध्यक्षमा पूर्ण गर्बुजा मगर, क्युस्यु (फुकुओका) केनको अध्यक्ष पदमा युकेश राना मगर र ओकिनावाको अध्यक्ष पदमा राम बहादुर थापा मगरलाई चयन गरिएको छ ।

मगर संघले स्थापनाकालदेखि नै माघे सङ्क्रान्ति, भूमे पर्वलगायतका मुख्य चाडपर्वहरू मनाउँदै आएको छ । यसका साथै नेपाली संस्कृति झल्किने विभिन्न साङ्गीतिक कार्यक्रमहरू तथा सामाजिक कार्यहरू गर्दै मगर समुदायबीचको एकता र भाइचारा प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

नेपाल मगर संघ जापानको २२औँ केन्द्रीय महाधिवेशनलाई भव्यताका साथ सफल पार्नका लागि शाखाका अध्यक्ष, पदाधिकारी एवं सदस्यहरू, संस्था सम्बद्ध सल्लाहकारहरू, विभागीय प्रमुखहरू, खेलाडीहरू, संस्थाका समस्त शुभचिन्तक, मगर दाजुभाइ तथा दिदीबहिनीहरूलाई गरिमामय उपस्थितिका लागि संघका अध्यक्ष राम हरि खपाँगी मगरले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया