Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – नेपालको राजनीतिमा लामो समयदेखि जरो गाडेर बसेको भ्रष्टाचारको जालो अब खुल्ने संकेत देखिएको छ । पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्वमन्त्री दीपक खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन अघि बढाएसँगै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्तिमाथिको प्रश्न पुनः चुलिएको हो । 

गत भदौ २४ गते प्रदर्शनकारीले तीनै नेताका घरमा आगजनी गर्दा ठूलो मात्रामा नेपाली तथा विदेशी मुद्रा जलेको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि विभागले यस विषयमा अनुसन्धान थालेको हो । यद्यपि, विभागले घटनास्थलमा मुचुल्का उठाउन झन्डै दुई साता लगाएकोमा भने प्रश्न उब्जिएको छ ।

भदौ २४ गतेको प्रदर्शनका क्रममा बूढानीलकण्ठस्थित देउवा र खड्काको निवास तथा खुमलटारस्थित दाहालको घरमा तोडफोड र आगजनी भएको थियो । त्यस क्रममा घरभित्रबाट पैसा निकालेर जलाइएका भिडियो र तस्बिरहरूले व्यापक चर्चा पाएका थिए । लगत्तै, भग्नावशेषमा मानिसहरूले केही खोजिरहेका दृश्यहरू पनि सार्वजनिक भएका थिए । सरकारले घटना भएको पर्सिपल्ट मात्र नेताहरूका जलेका घरबाहिर प्रहरी सुरक्षा दिएर प्रवेशमा रोक लगाएको थियो, जसले घटनाको संवेदनशीलतामाथि थप प्रश्न खडा गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली देउवा र खड्काको निवासमा असोज गते पुगेको थियो भने दाहाल निवासमा असोज ७ गते मात्र पुगेको थियो (असोज ६ गते घटस्थापनाको बिदा परेकाले)। टोलीले भग्नावशेषबाट जलेका नोटका टुक्रा, खरानी र अन्य विवरण संकलन गरी विधि विज्ञान प्रयोगशालामा पठाएको छ । विभागका एक अधिकारीका अनुसार, ‘विभिन्न नेताका घरमा गड्डीका गड्डी रकम फेला परेको भन्दै सामाजिक सञ्जालबाट भिडियो र तस्बिर सार्वजनिक भएका थिए। प्रारम्भिक स्क्रिनिङमा कैफियत देखिएपछि आवश्यक अनुसन्धान सुरु गरिएको छ ।’

यद्यपि, देउवाको सचिवालयले सार्वजनिक भिडियोहरूलाई ‘कपोकल्पित, अतिरञ्जित र भ्रामक’ भन्दै खण्डन गरेको छ । देउवा र दाहाल दुवैमाथि सत्ता-शक्तिमा रहेर विभिन्न भ्रष्टाचारलाई संरक्षण गरेको र अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लाग्दै आएको छ ।

शेरबहादुर देउवा: २०४८ सालदेखि निरन्तर सार्वजनिक लाभको पदमा रहेका देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । उनकी पत्नी आरजु राणामाथि पनि सार्वजनिक ठेक्का, सरुवा-बढुवा, सार्वजनिक नियुक्ति र नक्कली भुटानी शरणार्थी प्रकरण तथा टीकापुर जग्गा अनियमितता प्रकरणमा नाम मुछिए पनि कुनै अनुसन्धान भएको थिएन ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’: २०६२/६३ को राजनीतिक परिवर्तनपछि संसदीय राजनीतिमा आएका दाहाल तीन पटक प्रधानमन्त्री भइसकेका छन् । सशस्त्र द्वन्द्वकालमा बैंक/वित्त संस्थाबाट लुटिएको रकम हिनामिना गरेको र शान्ति प्रक्रियामा आएपछि फर्जी लडाकु विवरण देखाएर सरकारी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । दाहाल विवादास्पद ठेकेदार शारदा अधिकारीको घरमा बस्दै आएका थिए, जुन घरमा आगजनी भएको थियो ।

दीपक खड्का: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री हुँदा जलविद्युत् आयोजनाको लाइसेन्स र ठेक्कामा विवादित बनेका खड्कामाथि नेपाल स्काउटको जग्गा हिनामिना प्रकरणमा पनि नाम जोडिएको थियो । तर यी सबै विषयमा प्रभावकारी अनुसन्धान हुन सकेको छैन ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै भ्रष्टाचारमाथि अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएकी छिन् । यसै क्रममा, प्रधानमन्त्री कार्यालय मातहत रहेका राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागलाई क्रमशः गृह मन्त्रालय र अर्थ मन्त्रालय मातहत फिर्ता गरिएको छ ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल भ्रष्टाचार गर्ने, कालोधनलाई सेतो बनाउने, नीतिगत निर्णयको आवरणमा राज्य स्रोत दोहन गर्ने, सरुवा-बढुवामा लेनदेन गर्ने जस्ता शंकामा रहेका सबै विषयलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताउँछन् । सम्पत्ति शुद्धीकरणको अनुसन्धान जटिल नहुने भन्दै उनले भने, ‘अनुसन्धान गर्न लागिएको व्यक्तिको धरातल पहिले कस्तो थियो र अहिले कस्तो छ ? अनुसन्धानमा यहीबीचको ग्याप हेर्ने हो । यसबीचमा अविश्वसनीय तरिकाले जीवनशैली र आर्थिक अवस्थामा परिवर्तन आएको छ भने यसको वैध स्रोत के हो, खोजी हुनुपर्छ ।’

तपाईको प्रतिक्रिया