समाचार सुन्नुहोस :
काठमाडौँ – सरकारले प्रमुख राजनीतिक दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ। जेन–जी आन्दोलनको दमनमा संलग्न, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको छानबिनमा परेकाहरूमाथि यस्तो कदम चाल्नेबारे छलफल भएको हो। सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका केही नेताहरूको राहदानी रोक्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रिपरिषद्सम्बद्ध स्रोतका अनुसार तत्काल पासपोर्ट रोक्ने निर्णय गरेर पछि थप कानुनी कारबाही अघि बढाइनेछ।
यस सूचीमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाको नाम समेत आएको बताइएको छ। तर ठोस निर्णय भने भइसकेको छैन। यसैबीच सम्पत्ति शुद्धीकरण विभागले देउवा, पूर्वमन्त्री दीपक खड्का, माओवादी अध्यक्ष प्रचण्ड र ओलीको घरमा पुगेर मुचुल्का उठाइसकेको छ। जेनजी आन्दोलनका क्रममा उनीहरूको घरमा आगजनी हुँदा जलेको नगद रकम भेटिएको भन्दै भिडियो र तस्वीरहरू सार्वजनिक भएका थिए।
राहदानी ऐन २०७६ अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, आतंकवादसहितका गम्भीर अपराधमा अनुसन्धान भइरहेको अवस्थामा पासपोर्ट रोक्का गर्न सकिने व्यवस्था छ। अहिलेसम्म कसैको राहदानी रोकिएको छैन तर तयारी भने अन्तिम चरणमा पुगेको सरकारी स्रोतले जनाएको छ।








