काठमाडौं – नेपालको वैकल्पिक राजनीतिक धारमा महत्वपूर्ण भूमिका खेल्दै आएका नयाँ शक्ति पार्टी, नेपाल (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पद स्वेच्छिक रूपमा त्याग गरेका छन् । बुधबार बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले ‘जेनजी विद्रोह र वैकल्पिक राजनीतिक कार्यभार’ विषयक राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
पार्टीका नेता रोशन पोखरेलका अनुसार डा. भट्टराईले स्वेच्छिक रूपमा अध्यक्ष पद त्याग गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको संकेत दिएका छन् । भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको आन्दोलनले राजनीतिक दलहरूमा पनि नेतृत्व परिवर्तनको आवश्यकता महसुस गराएको र सोही सन्देशलाई आत्मसात् गर्दै आफूले अध्यक्ष पद छाडेको भट्टराईले बताएका छन् ।
भट्टराईले अध्यक्ष पद छाडेर विशेष महाधिवेशनमा जाने प्रस्ताव पनि अघि सारेका थिए । उनको प्रस्तावअनुसार दुर्गा सोबको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको छ। यो कदमले नेसपाभित्र नयाँ ऊर्जा र दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
२०८१ फागुन १ गते नेसपाको अध्यक्ष पदमा निर्वाचित भएका डा. भट्टराईले आफ्नो छोटो कार्यकालमै पार्टीमा महत्वपूर्ण योगदान पुर्याएका छन् । उनले आफ्नो बौद्धिक क्षमता र दूरदृष्टिले वैकल्पिक राजनीतिको बहसलाई राष्ट्रियस्तरमा स्थापित गर्न भूमिका खेलेका छन् ।








